समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

झापाका प्रजिअ पोखरेलको अग्रसरता: ६० हजार बढी भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गरिँदै

झापा । झापामा पदभार ग्रहण गरेको दुई महिना नबित्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्रम कुमार पोखरेलले प्रशासनिक चुस्तता, शान्ति-सुरक्षा र वर्षौंदेखि अल्झिएको सुकुम्बासी समस्या समाधानमा तीव्रता दिएका छन्। उनको विशेष सक्रियता र समन्वयसँगै लामो समयदेखि धनीपुर्जाको प्रतीक्षामा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई जग्गा उपलब्ध गराउने गृहकार्यले गति लिएको छ।

​भूमि समस्या समाधान समिति झापाको पछिल्लो विवरणअनुसार जिल्लाभरबाट जग्गा प्राप्तिका लागि कुल ६० हजार ५ सय ७० परिवारले आवेदन दिएका छन्। जसमध्ये भूमिहीन दलिततर्फ २ हजार ८ सय ९६ परिवार, भूमिहीन सुकुम्बासीतर्फ १५ हजार ७ सय ८३ परिवार र अव्यवस्थित बसोबासीतर्फ ४१ हजार ८ सय ५१ परिवार रहेका छन्। यसबाहेक अघिल्ला आयोगहरूबाट प्रक्रिया पूरा हुन नसकेका ५ हजार २ सय ९६ आवेदक परिवारको अधुरो कामलाई पनि प्रजिअ पोखरेलको पहलमा प्राथमिकताका साथ अघि बढाइएको छ।

​सर्वसाधारण र भूमिहीन वर्गलाई राहत पुर्याउने उद्देश्यले राजस्वको दरमा समेत परिमार्जन गरिएको छ। नयाँ व्यवस्थाअनुसार अब आवास प्रयोजनका लागि न्यूनतम मूल्याङ्कनको १२ प्रतिशत र कृषि प्रयोजनतर्फ ७ प्रतिशत मात्र राजस्व दर कायम गरिएको छ।

​जिल्लामा आएलगत्तै शान्ति-सुरक्षा सुदृढ बनाउनुका साथै प्रशासनिक सेवा प्रवाहलाई चुस्त बनाएका प्रजिअ पोखरेलले वास्तविक सुकुम्बासीले विनाझन्झट धनीपुर्जा पाउने वातावरण बनाउन सम्पूर्ण प्रशासनिक संयन्त्र परिचालन गरेका छन्। उनको यो तदारुकता र सुधारका प्रयासहरूले गर्दा झापावासीमा दशकौँ पुरानो भूमिहीनताको समस्या अब भने स्थायी रूपमा समाधान हुने विश्वास जागेको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)