काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार विधिको शासनबाट च्यूत भएको आरोप लगाउँदै देशमा भय र भ्रमको शासन तत्काल बन्द गर्न कडा चेतावनी दिएको छ। पछिल्लो विकसित राजनीतिक घटनाक्रमका सम्बन्धमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीप्रति तीब्र असन्तुष्टि व्यक्त गर्दै सिंहदरबार र बालुवाटारमा रमिता भइरहेको टिप्पणी गरे।
पत्रकार सम्मेलनलगत्तै पार्टीका महामन्त्री प्रदीप पौडेलद्वारा जारी विज्ञप्तिमा सरकार पूर्णतः स्वेच्छाचारी र निरङ्कुश बन्दै असंवैधानिक कदमविरुद्ध उठ्ने नागरिक र प्रतिपक्षको आवाज थुन्न उद्धत रहेको ठहर गरिएको छ। विज्ञप्तिमा पार्टीको वैधानिकताका सवालमा उठाइएका आरोपहरूलाई निराधार र नियोजित भन्दै खारेज गरिएको छ। संविधान, प्रचलित कानुन र पार्टी विधानअनुसार सम्पन्न भइसकेका महाधिवेशनमाथि श्रृङ्खलावद्ध षडयन्त्र गरी भ्रम फैलाउन खोजिएको भन्दै कांग्रेसले आफूमाथि उठ्ने जुनसुकै प्रश्न र अनुसन्धानको सामना गर्न तयार रहेको स्पष्ट पारेको छ।
विशेष गरी ‘इनम सापकोटा प्रकरण’ मा प्रधानमन्त्री कार्यालय र उच्चपदस्थ अधिकारीहरूको प्रत्यक्ष संलग्नतामा राज्य संयन्त्रको दुरुपयोग भएको आरोप कांग्रेसले लगाएको छ। अनधिकृत व्यक्तिबाट फोन नियन्त्रणमा लिने, प्रमाण नष्ट गर्ने र प्रहरी महानिरीक्षकलाई हटाउनेसम्मका घटनाले राज्यका स्वतन्त्र निकायहरू शासकको स्वार्थका लागि प्रयोग भएको पुष्टि हुने विज्ञप्तिमा उल्लेख छ। पार्टीले यस लगायतका सम्पूर्ण घटनाको स्वतन्त्र, निष्पक्ष र विधिसम्मत अनुसन्धान गर्न जोडदार माग गरेको छ।
सरकारका यस्ता अलोकतान्त्रिक हर्कत, प्रेस नियन्त्रण र संवैधानिक निकायमाथिको हस्तक्षेपविरुद्ध कांग्रेसले राजनीतिक र कानुनी दुवै ढङ्गबाट सशक्त प्रतिवाद गर्ने घोषणा गरेको छ। यसका लागि उपसभापति पुष्पा भुसालको नेतृत्वमा कानुनी परामर्श प्रक्रिया अगाडि बढाइनेछ भने संसदीय दलका नेता भीष्मराज आङ्गम्वेको नेतृत्वमा संसद्भित्र आवश्यक पहलकदमी लिइने जनाइएको छ।
सरकारको पहिलो प्राथमिकता विपद्बाट प्रताडित जनताको राहत, थप्प बनेको अर्थतन्त्रको पुनरुत्थान र जलवायु संकटको सम्बोधनमा हुनुपर्नेमा जोड दिँदै कांग्रेसले अफवाह फैलाएर सत्ता चलाउने धन्दा छाडी जनताका मूल मुद्दामा केन्द्रित हुन आग्रह गरेको छ। साथै, १५औँ महाधिवेशनको नीति अनुसार ‘प्रतिपक्षीय निगरानी’ मार्फत विधिको शासन र नागरिक स्वतन्त्रताका पक्षमा दृढ रहन नेपाली कांग्रेसले सम्पूर्ण पार्टी पङ्क्तिलाई आह्वान गरेको छ।
