समाचार
हल्दिबारी संवाददाता १२ मिनेट अगाडि

रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, प्रशिक्षकसँगको विवाद मुख्य कारण

एजेन्सी / पोर्चुगिज फुटबल महासंघ (एफए) सँगको गम्भीर विवादपछि विश्वविख्यात फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। यससँगै उनले २३४ खेलमा १४६ गोल गर्दै आफ्नो एक स्मरणीय र कीर्तिमानी अन्तर्राष्ट्रिय करियरमा पूर्णविराम लगाएका छन्।

​अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने कीर्तिमान रोनाल्डोको नाममा छ। पाँचपल्टका बालोन डी’ओर विजेता रोनाल्डोले सन् २००३ मा अन्तर्राष्ट्रिय फुटबलमा पदार्पण गरेका थिए। उनको कप्तानी र प्रेरणामा पोर्चुगलले सन् २०१६ को युरोपेली च्याम्पियनसिप (यूरो कप) को उपाधि जित्नुका साथै दुईपल्ट नेसन्स लिगको उपाधि पनि चुमेको थियो।

​विहीबार सामाजिक सञ्जालमार्फत आफ्नो सन्न्यासको घोषणा गर्दै रोनाल्डोले भावुक सन्देश जारी गरेका छन्। उनले भनेका छन्, ‘हाम्रो राष्ट्रिय टोलीको ७ नम्बर जर्सी फिर्ता गर्ने दिन फेरि आएको छ। यो जर्सी केवल मेरो मात्र हो भन्ने मैले कहिल्यै महसुस गरिनँ। विगत २३ वर्षसम्म यसलाई लगाउने, यसको रक्षा गर्ने र विश्वभरका रंगशालाहरूमा बोकेर हिँड्ने सौभाग्य र जिम्मेवारी मैले पाप्त गरेँ। आज यसलाई भविष्यको पुस्तालाई सुम्पिने बेला आएको छ। यो निर्णय सहज थिएन, किनकि केही निर्णयहरू मस्तिष्कले मात्र होइन, हृदयले लिने गर्छन्।’

​प्रशिक्षकसँगको तिक्तताले निम्त्यायो निर्णय

रोनाल्डोले पोर्चुगलका नयाँ मुख्य प्रशिक्षक जर्ज जिसससँगको तीव्र मतभेदका कारण यो अप्रत्याशित निर्णय लिएको खुल्न आएको छ। गत अन्तर्राष्ट्रिय ब्रेकअघि ओस्लोमा नर्वेविरुद्धको नेसन्स लिग खेलमा पोर्चुगलले २–१ को जित निकाले पनि रोनाल्डोले बेन्चमै समय बिताउनुपरेको थियो र उनले मैदान उत्रने मौका पाएनन्।

​सोही खेलमा बेवास्ता गरिएपछि रोनाल्डो रुष्ट बनेर टोलीको शिविर छाडेर बाहिरिएका थिए। उक्त अनुशासनहीनताको घटनालाई लिएर पोर्चुगिज फुटबल महासंघले उनलाई निलम्बन गर्नुका साथै जरिवानासमेत लगाएको थियो। रोनाल्डोले भने प्रशिक्षक जिससले आफूलाई वैकल्पिक (सब्सिटिच्युट) खेलाडीको रूपमा मैदान पठाउने बाचा गरे पनि अन्त्यमा त्यो वाचा पूरा नगरेको गम्भीर आरोप लगाएका छन्।

​अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिए पनि रोनाल्डोले क्लब स्तरमा भने साउदी अरेबियाको क्लब अल-नस्रबाट आफ्नो खेलजीवनलाई निरन्तरता दिनेछन्।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)