समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

हल्दिवारीवासीलाई उपचारमा २५ देखि ५० प्रतिशतसम्म छुट, कांग्रेस र नोबेल अस्पतालबीच सम्झौता

झापा । हल्दिवारी गाउँपालिकाका बासिन्दाले अब विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल तथा काठमाडौं मेडिकल कलेज (केएमसी) अन्तर्गतका अस्पतालहरूमा स्वास्थ्य उपचार गराउँदा विशेष छुट पाउने भएका छन्। नेपाली कांग्रेस हल्दिवारी गाउँ कमिटी र अस्पताल प्रशासनबीच भएको सम्झौताअनुसार पार्टीको सिफारिसमा जाने बिरामीले उपचार सेवामा २५ देखि ५० प्रतिशतसम्म सहुलियत प्राप्त गर्नेछन्।

​मंसिर २ गते (बुधबार) आयोजित एक विशेष कार्यक्रमका बीच हल्दिवारी गाउँ कमिटीका सभापति गङ्गाप्रसाद प्रसाईं र अस्पतालका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौतामा प्रथम पक्षका तर्फबाट केएमसी प्रशासन प्रमुख नारायण दाहाल, जनसम्पर्क प्रमुख सुधा कट्टेल (केभिना) र नोबेल अस्पतालका महाप्रबन्धक दिपेश राई तथा दोस्रो पक्षबाट सभापति प्रसाईंको हस्ताक्षर छ।

​सम्झौताअनुसार गाउँ कमिटीको आधिकारिक सिफारिस वा तोकिएको ह्वाट्सएप समूहमार्फत सिफारिस लिएर जाने हल्दिवारीका बिरामीले ओपीडी टिकट निःशुल्क पाउनेछन्। यस्तै, जनरल बेड, आईसीयू, एचडीयू, सीसीयू, शल्यक्रिया (ओटी), ल्याब परीक्षण, सिटी स्क्यान, एमआरआई, एक्स-रे, यूएसजी, ईसीजी, इको र फिजियोथेरापीलगायतका सेवामा २५ प्रतिशत छुट उपलब्ध हुनेछ। नेपाल सरकारको स्वास्थ्य बिमा वा विपन्न नागरिक औषधि उपचार कोषको सुविधा उपभोग गरिसकेका वा बिमामा आबद्ध नभएका बिरामीले भक्तपुर दुवाकोटस्थित केएमसीमा ५० प्रतिशत, सिनामंगलस्थित केएमसीमा २५ प्रतिशत र विराटनगरस्थित नोबेल अस्पतालमा २० प्रतिशत विशेष छुट पाउने सम्झौतामा उल्लेख छ।

​२०८३ असार मसान्तसम्म लागू हुने यस सम्झौतामा औषधि, शल्यक्रियामा प्रयोग हुने सामग्री (इम्प्लान्ट, कन्जुमेबल), क्याबिन शुल्क, प्रत्यारोपण र कस्मेटिक सर्जरीमा भने छुट लागू नहुने स्पष्ट पारिएको छ।

​सम्झौता कार्यक्रममा कोशी प्रदेशका पूर्वस्वास्थ्य मन्त्री मानबहादुर लिम्बू, प्रदेश सभासद् भूमिप्रसाद राजवंशी, डा. सुनील शर्माका सचिवालय सचिव विवेक लिम्बू, कांग्रेसका महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति तथा गाउँ कमिटीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। यस सम्झौताले हल्दिवारीका विपन्न तथा सामान्य नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने विश्वास लिइएको छ। उक्त सम्झौता पत्र कार्यक्रमको सहजीकरण हल्दीबारी पार्टी सचिव धर्मराज काफ्ले बाबाले गरेका थिए।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)