समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

दुर्व्यसनमुक्त समाज बनाउने संकल्पसहित चेतना नेपालको प्रशिक्षण सम्पन्न

विर्तामोड । हरेक घरलाई चेतनासँग जोड्दै दुर्व्यसनमुक्त समाज निर्माण गर्ने संकल्पसहित चेतना नेपालले एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

​विर्तामोड–४ स्थित संस्थाको केन्द्रीय कार्यालयको सभाहलमा मंगलबार बिहान ११ बजेदेखि दिउँसो साढे ३ बजेसम्म चलेको प्रशिक्षणमा झापाका विभिन्न पालिकाबाट नगर तथा पालिका पदाधिकारी, संगठित सदस्य, अगुवा अभियानकर्मी र शुभचिन्तकको उत्साहजनक सहभागिता थियो। केन्द्रीय अध्यक्ष इन्द्र प्रसाद ओलीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख संरक्षक राजन अधिकारी प्रमुख अतिथि रहनुभएको थियो।

​संस्थालाई पालिका, नगर, वडा र टोल तहसम्म विस्तार गरी प्रत्येक घरलाई अभियानमा जोड्ने विधि तथा दुर्व्यसन नियन्त्रणका उपायबारे प्रशिक्षण केन्द्रित रहेको आयोजकले जनाएको छ। दुर्व्यसनविरुद्धको अभियानमा प्रत्येक नागरिकलाई सामाजिक उत्तरदायित्व र जिम्मेवारीबोध गराउने उद्देश्यले आयोजित प्रशिक्षणलाई अध्यक्ष ओली र प्रमुख संरक्षक अधिकारीले सहजीकरण गर्नुभएको थियो।

​कार्यक्रममा डा. तिलक चैतन्य, मानार्थ सदस्य शिवकुमार राजभण्डारी, सल्लाहकार सदस्य बद्री प्रसाद उप्रेती, समाजसेवी श्री प्रसाद सिवाकोटी, शिक्षासेवी राम प्रसाद चापागाईं, धनपति चापागाईं, कोषाध्यक्ष देवीभक्त आचार्य, केन्द्रीय सदस्य दुर्गा बहादुर घतानी, कार्यक्रम संयोजक कमल दहाल, अभियान संयोजक गीता खनाल रिजाल, अर्जुनधारा नगर समिति अध्यक्ष जीवन राई र विर्तामोड नगर समिति अध्यक्ष अनुप निरौला लगायतको उपस्थिति थियो।

​सोही अवसरमा चेतना नेपाल साहित्य समाज समेत गठन गरिएको छ। शान्ता उप्रेती, भवानी क्षेत्री, रोहन पकुवाल, पुष्पा दंगाल, दर्पण भट्टराई र उमा तिमल्सिना लगायत ११ सदस्यीय समिति चयन गरिएको हो। कार्यक्रममा शान्ता उप्रेती र उमा तिमल्सिनाले दुर्व्यसनविरुद्धका चेतनामूलक कविता तथा गजल वाचन गर्नुभएको थियो।

​शुभकामना मन्तव्य राख्दै अनुप निरौला, जीवन राई र डा. तिलक चैतन्यले संस्थाको अभियानको प्रशंसा गर्दै सबैलाई जोडिन आह्वान गर्नुभयो। सभामा श्री प्रसाद सिवाकोटी र राम प्रसाद चापागाईं लगायत ९ जनाले अक्षयकोष तथा आजीवन सदस्यता लिएको कोषाध्यक्ष देवीभक्त आचार्यले जानकारी दिनुभयो। स्वागत मन्तव्य कोषाध्यक्ष आचार्यले दिनुभएको थियो भने कार्यक्रम सञ्चालन जनसम्पर्क अधिकारी प्रेम कुमार सेढाईंले गर्नुभएको थियो।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)