विर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका जिल्ला सभापति ओमनाथ भण्डारीले आफ्नो पार्टी प्रवेशका विषयमा सामाजिक सञ्जालमार्फत फैलाइएको भ्रामक र कपोलकल्पित प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ।

सभापति भण्डारीले एक विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नियोजित रूपमा भ्रम सिर्जना गरी व्यक्तिगत प्रतिष्ठा र पार्टीको छविमा आँच पुर्याउने प्रयास भइरहेको बताउनुभएको हो। उहाँले यस्ता गलत तथा भ्रामक सामग्री तत्काल हटाएर अफवाह फैलाउने कार्य रोक्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभएको छ।
अन्यथा, यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूविरुद्ध प्रचलित साइबर अपराधसम्बन्धी कानुनबमोजिम आवश्यक कानुनी प्रक्रिया अघि बढाउन बाध्य हुने चेतावनीसमेत उहाँले दिनुभएको छ। साथै, भण्डारीले यस्ता गलत र भ्रमपूर्ण प्रचारको पछाडि नलागी सत्यतथ्य बुझ्न सम्पूर्ण आमनागरिकमा हार्दिक अनुरोध गर्नुभएको छ।
