झापा । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौँ संस्करणदेखि प्रतियोगितालाई ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने गरी आठवटै फ्रेन्चाइज क्लबका लागि फ्लडलाइटसहितका आधुनिक क्रिकेट रंगशाला निर्माण गरिने घोषणा गरेका छन् ।
एनपीएलको उपाधि विजेता सुदूरपश्चिम रोयल्सलाई हार्दिक बधाई ज्ञापन गर्दै प्रधानमन्त्री शाहले नेपाली क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकार पूर्ण रूपमा तयार रहेको बताएका हुन् । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत सबै आठवटै रंगशालाको निर्माण कार्य अघि बढाइने उनले स्पष्ट पारे ।
प्रधानमन्त्री शाहका अनुसार सुदूरपश्चिम रोयल्सको घरेलु मैदानका रूपमा रहने फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया यसअघि नै सुरु भइसकेको छ । बाँकी अन्य सातवटा रंगशालाको निर्माण प्रक्रियासमेत आगामी तीन महिनाभित्र औपचारिक रूपमा अघि बढाइने उनले जानकारी दिए ।
कुन क्लबको कुन रंगशाला ?
सरकारको योजनाअनुसार एनपीएलका आठवटै फ्रेन्चाइज टोलीको घरेलु मैदानका रूपमा देहायबमोजिमका रंगशालाहरू फ्लडलाइटसहित निर्माण तथा स्तरोन्नति गरिनेछन् :
- सुदूरपश्चिम रोयल्स : फाप्ला क्रिकेट रंगशाला
- विराटनगर किंग्स : बैजनाथपुर क्रिकेट रंगशाला
- लुम्बिनी लायन्स : सिद्धार्थ क्रिकेट रंगशाला
- कर्णाली याक्स : सुर्खेत क्रिकेट रंगशाला
- काठमाडौँ गुर्खाज : कीर्तिपुर क्रिकेट मैदान
- पोखरा एभेन्जर्स : पोखरा क्रिकेट रंगशाला
- जनकपुर बोल्ट्स : रामजानकी क्रिकेट रंगशाला
- चितवन राइनोज : गौतमबुद्ध क्रिकेट रंगशाला
छैटौँ संस्करणसम्ममा यी सबै रंगशाला तयार भई रात्रिकालीन खेलसमेत सञ्चालन गर्न सकिने पूर्वाधार बनेपछि नेपाली क्रिकेटले व्यावसायिक फड्को मार्ने विश्वास लिइएको छ ।
