विराटनगर । उपचारका लागि विराटनगर ल्याइएका झापाका एक कैदी अस्पतालबाटै फरार भएका छन्।
झापा कारागारबाट मोरङ कारागार स्थानान्तरण गरी विराटनगर–७ स्थित क्षयरोग अस्पतालमा उपचाररत ३० वर्षीय सुमन भन्ने सन्तोष राई फरार भएका हुन्। भारतको पश्चिम बंगाल घर भई हाल झापाको भद्रपुर नगरपालिका–४ बस्दै आएका उनी चोरी मुद्दामा २०८२ वैशाख २८ गतेदेखि झापा कारागारमा बन्दी जीवन बिताइरहेका थिए।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई झापा कारागारबाट मोरङ कारागार लगिएको र सोही दिनदेखि क्षयरोग अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो। उनी सोमबार बिहान ७:१५ बजे अस्पतालबाट फरार भएको प्रहरीले जनाएको छ।
फरार कैदीको खोजीका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको कमाण्डमा मातहतका एकाइहरूसमेत परिचालन गरी तीव्र खोजतलास भइरहेको प्रहरीले जानकारी दिएको छ।