समाचार
हल्दिबारी संवाददाता ३१ मिनेट अगाडि

भारतका ८ राज्यमा भारी वर्षाको चेतावनी, उत्तर भारतमा बाक्लो हुस्सु लाग्ने अनुमान

​नयाँदिल्ली । पूर्वी हावाको प्रभावसँगै भारत मौसम विज्ञान विभाग (आईएमडी) ले आगामी नोभेम्बर २५ तारिखका लागि दक्षिण भारतका ८ राज्य तथा केन्द्रशासित प्रदेशमा हल्कादेखि भारी वर्षा हुने चेतावनी जारी गरेको छ । सो अवधिमा प्रतिघण्टा ६० देखि ८० किलोमिटरसम्मको गतिमा तीव्र हावा चल्ने तथा कतिपय स्थानमा मेघगर्जन र चट्याङ पर्न सक्ने जनाइएको छ । यता उत्तर भारतका राज्यहरूमा भने बाक्लो हुस्सु र कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ ।

​मौसम विभागका अनुसार तमिलनाडु, पुडुचेरी र कराईकलमा नोभेम्बर २५ देखि २८ तारिखसम्म चट्याङ र हावाहुरीको सम्भावना छ । केरल र माहेमा नोभेम्बर २७ सम्म कतिपय स्थानमा भारी वर्षा हुन सक्ने तथा तटीय आन्ध्र प्रदेश, यनम र रायलसीमामा नोभेम्बर २८ सम्म तीव्र हावा चल्ने अनुमान छ । आईएमडीले आन्ध्र प्रदेश, तेलंगाना, तमिलनाडु, कर्नाटक, केरल, अण्डमान–निकोबार द्वीपसमूह, पुडुचेरी र लक्षद्वीप गरी ८ राज्य तथा केन्द्रशासित प्रदेशमा वर्षाको सम्भावना औँल्याएको छ ।

​उत्तर भारततर्फ दिल्लीमा नोभेम्बर २५ मा आकाश मुख्यतया सफा रहने भए पनि बिहानपख हल्का हुस्सु वा कुहिरो लाग्न सक्नेछ । त्यहाँ अधिकतम तापक्रम २४ देखि २६ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियसबीच रहने अनुमान छ । यसैगरी उत्तर प्रदेश, बिहार, पञ्जाब, हिमाचल प्रदेश र उत्तराखण्डमा नोभेम्बर २५ मा मौसम सामान्यतया सुख्खा रहने तर विभिन्न स्थानमा हल्कादेखि बाक्लो हुस्सु लाग्ने तथा तापक्रम घट्ने पूर्वानुमान गरिएको छ । पञ्जाब र हिमाचल प्रदेशमा बिहान र रातिको समयमा दृश्यता कम भई सडक तथा रेल यातायात प्रभावित हुन सक्ने विभागले जनाएको छ ।

​मौसम विभागको पूर्वानुमानअनुसार नोभेम्बर २५ मा दिल्लीको अधिकतम तापक्रम २५ र न्यूनतम १० डिग्री सेल्सियस रहनेछ । त्यस्तै मुम्बईमा ३४ र २०, चेन्नईमा ३२ र २४, कोलकातामा २८ र १८, लखनऊमा २६ र १२ तथा पटनामा २७ र १९ डिग्री सेल्सियस तापक्रम रहने अनुमान छ । यसैगरी राँचीमा २४ र १३, भोपालमा २७ र ९, जयपुरमा २९ र १४, शिमलामा २० र ८ तथा नैनीतालमा १६ र ८ डिग्री सेल्सियस तापक्रम रहने जनाइएको छ ।

​सम्भावित भारी वर्षा र तीव्र हावालाई ध्यानमा राख्दै मौसम विभागले किसानहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । तमिलनाडुमा धानखेतबाट पानी निकासको उचित प्रबन्ध मिलाउन तथा पाकिसकेको बाली भित्र्याएर सुरक्षित र सुख्खा स्थानमा राख्न सुझाव दिइएको छ । तटीय आन्ध्र प्रदेश र रायलसीमामा खेतमा पानी जम्न नदिन तथा तरकारी र बागवानीका बिरुवाहरूलाई हावाहुरीबाट जोगाउन टेवा दिन विभागले अनुरोध गरेको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)