समाचार
हल्दिबारी संवाददाता २२ मिनेट अगाडि

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा तिहार–छठयताका प्रमुख कार्यसम्पादन सार्वजनिक

झापा । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायबाट तिहार तथा छठ पर्वयता सम्पादन भएका प्रमुख कार्यहरूको विवरण (प्रगति हाइलाइट्स) सार्वजनिक गरिएको छ ।

​सार्वजनिक विवरणमा द्विपक्षीय कूटनीतिक सम्बन्ध विस्तार, जेनजी आन्दोलनका शहीद तथा घाइतेको व्यवस्थापन, डिजिटल सुशासन, ठूला ऊर्जा पूर्वाधारको ठेक्का प्रक्रिया र सार्वजनिक खरिद सुधारलाई मुख्य उपलब्धिका रूपमा समेटिएको छ ।

​कार्यालयका अनुसार यस अवधिमा प्रधानमन्त्री शाहले मंसिर ६ र ७ गते मित्रराष्ट्र भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गर्नुभएको छ । भ्रमणका क्रममा दुई देशबीच उच्चस्तरीय भेटवार्ता तथा द्विपक्षीय सहकार्यका महत्त्वपूर्ण विषयमा छलफल भएको थियो । सोही भ्रमणका अवसरमा दुवै देशका प्रधानमन्त्रीबाट संयुक्त रूपमा शिलान्यास गरिएको तल्लो अरुण जलविद्युत् परियोजना (बीओओटी मोडल) को पहिलो प्याकेज निर्माणका लागि ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँको ठेक्का आह्वानसमेत भइसकेको छ । लगानी सम्मेलन २०१९ मा सोकेस गरिएको उक्त परियोजना निर्माणका लागि विकासकर्ता छनोट भइसकेको छ ।

​यसैगरी, जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको पुनर्स्थापना, जीवनयापन र सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेज कार्यान्वयनको प्रगति समीक्षा गरी बाँकी काम शीघ्र सम्पन्न गर्न सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशन दिइएको छ । साथै, ‘नेपाल जेनजी परिषद् गठन तथा सञ्चालनसम्बन्धी आदेश’को मस्यौदा तयार गरी राय तथा परामर्शका लागि सम्बन्धित मन्त्रालयहरूमा पठाइएको विवरणमा उल्लेख छ ।

​विपद् व्यवस्थापनतर्फ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ रुपैयाँ जम्मा भएको छ । त्यसमध्ये एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ ।

​सूचना प्रविधि र डिजिटल सुशासनलाई प्राथमिकता दिँदै नेपाललाई आईटी आउटसोर्सिङ र सफ्टवेयर विकासको आकर्षक गन्तव्य बनाउन विदेशी प्रविधि कम्पनीलाई द्रुतमार्गबाट स्वीकृति दिने विशेष लगानी सहजीकरण नीतिको तयारी अघि बढाइएको छ । यस्तै, राष्ट्रिय दूरसञ्चार नीति, २०८३ को मस्यौदामाथि विज्ञ तथा नीति प्रयोगशालाका पदाधिकारीबाट रायसुझाव लिएर परिमार्जन प्रक्रिया अघि बढाइएको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रको आयोजनामा संवेदनशील सूचना पूर्वाधारको पहिचान र संरक्षणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ भने सिंहदरबार प्रवेशद्वारको लामो समयदेखि अवरुद्ध गेटपास प्रणाली प्राविधिक सुधारसहित पुनः सञ्चालनमा ल्याइएको छ ।

​सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन नयाँ विद्युतीय सरकारी खरिद प्रणाली (ई–जीपी) सञ्चालनमा ल्याइएको छ, जसमा कार्तिक महिनामा मात्रै १ हजार ४५२ बोलपत्रदाता र ४९५ सार्वजनिक निकाय दर्ता भएका छन् । यस्तै, सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ स्वीकृत भई जारी गरिएको छ । चारवटा मानक बोलपत्र तथा खरिदसम्बन्धी कागजात तयार गर्न परामर्शदातासँग सम्झौता गरी कार्यादेश दिइएको छ भने २३ वटा सार्वजनिक निकायलाई निर्माण तथा परामर्श सेवा खरिदसम्बन्धी राय दिइएको छ ।

​यस अवधिमा सङ्घ, प्रदेश र स्थानीय तहका वार्षिक योजना, बजेट तथा कार्यक्रमबीच सामञ्जस्यता कायम गर्न र दोहोरोपना हटाउन पछिल्ला तीन आर्थिक वर्षको तुलनात्मक अध्ययनको ढाँचा तयार गरिएको छ । सरकारी निकायबाट सञ्चालन हुने सीपमूलक तालिमको दोहोरोपना हटाउन अध्ययन तथा सुझाव कार्यदल गठन गरिएको छ ।

​सुशासन प्रवर्द्धनका लागि प्राविधिक परीक्षण प्रतिवेदनमा औँल्याइएका बेरुजु तथा अनियमितता अनुगमन गर्न चितवन, मकवानपुर र सिन्धुलीमा प्राविधिक टोली तथा विभिन्न जिल्लामा कर्मचारीको आचारसंहिता पालना र सेवा प्रवाह अनुगमन गर्न टोली परिचालन गरिएको छ । साथै, नेपाल ट्रष्टको धादिङ छत्रे देउरालीस्थित करिब १५ हजार रोपनी जग्गाको संरक्षण र व्यावसायिक सदुपयोगका लागि स्थलगत अनुगमन गरिनुका साथै लिजसम्बन्धी नियमावली तयार गर्न पाँच सदस्यीय समिति गठन गरिएको कार्यालयले जनाएको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)