समाचार
हल्दिबारी संवाददाता २३ मिनेट अगाडि

बिना इजाजत कारोबार गर्दा झापाको न्यू देउमाई सहकारीको बिक्री कक्षमा ताला

झापामा अनुमति नलिई बीउबिजन तथा विषादि बिक्री वितरण गर्ने कृषि सहकारी र पसलमाथि प्रशासनले कारबाही गरेको छ। जिल्ला प्रशासन कार्यालय झापाको आकस्मिक अनुगमनका क्रममा अनुमतिबिना बीउबिजन तथा विषादि बिक्री गरेको पाइएपछि झापा गाउँपालिका–७ मदरगाछस्थित न्यू देउमाई कृषि सहकारी संस्थाको बिक्री कक्ष शिल गरिएको छ।

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार अनुगमनका क्रममा सहकारी संस्थाको रासायनिक मलको बिक्री वितरण अवस्था भने दुरुस्त पाइएको थियो। तर, सहकारीले बिक्री गर्दै आएको बीउबिजन तथा विषादि बिक्री वितरणसम्बन्धी इजाजतपत्र पेश गर्न नसकेपछि आवश्यक कागजात सम्बन्धित निकायमा पेश नगरेसम्मका लागि बिक्री कक्ष शिल गरिएको हो।

त्यस्तै, झापा गाउँपालिका–६ शरणामतीस्थित सुरुची एण्ड श्रीयन् खाद्य भण्डारले पनि अनुमति नलिई बीउबिजन बिक्री वितरण गरेको पाइएको छ। अनुगमन टोलीले उक्त पसलबाट करिब १६ हजार रुपैयाँ बराबरको १०६ केजी हाइब्रिड मकैको बीउ जफत गरेको छ। सोही पसलमा बिक्रीका लागि राखिएका १ हजार ८४० रुपैयाँ बराबरका म्याद गुज्रिएका खाद्य पदार्थसमेत फेला परेपछि नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यसैबीच, अनुगमन टोलीले शरणामतीस्थित मण्डल एग्रो एण्ड फिड सप्लायर्स र झापा गाउँपालिका–३४ स्थित आयुष्मा भेटेरेनरी फिड सप्लायर्समा समेत अनुगमन गरेको थियो। ती दुवै पसलमा सरकारी अनुदानको मल तथा बीउबिजनको खरिद, भण्डारण र बिक्री वितरण नियमानुसार भएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीले जानकारी दिएका छन्।

कृषि भण्डार तथा भेटेरेनरी पसलहरूको अनुगमनका लागि जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी रायमाझी, कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्ट, उपभोक्ता जागरण अभियान झापाका अध्यक्ष शालिकराम भट्टराई, प्रहरी चौकी शरणामतीका प्रहरी सहायक निरीक्षक तीर्थबहादुर भण्डारी तथा स्थानीय पत्रकारसहितको संयुक्त टोली खटिएको थियो।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)