समाचार
हल्दिबारी संवाददाता २० मिनेट अगाडि

देउनियाँ पुलबाट मोटरसाइकल खस्दा चालकको घटनास्थलमै मृत्यु

झापाको भद्रपुर नगरपालिका–३ स्थित देउनियाँ पुलमाथिबाट मोटरसाइकल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा परी भद्रपुर नगरपालिका–७ का अन्दाजी ३५ वर्षीय रणबहादुर भट्टराईको ज्यान गएको हो ।

मेची राजमार्गअन्तर्गत चारआली–केचना सडक खण्डमा पर्ने देउनियाँ पुलमुनि गएराति प्र १–०१–०१३ प २५७९ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल अनियन्त्रित भई पुलबाट खसेको थियो । पुलभन्दा करिब ३० मिटर तल घोप्टो परेको अवस्थामा भट्टराईको शव आज बिहान स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव नजिकै दुर्घटनाग्रस्त मोटरसाइकल समेत फेला परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको अगाडिको भागमा क्षति पुगेको छ । घटनाको जानकारी पाएलगत्तै वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेको छ । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा मोटरसाइकल तीव्र गतिमा रहेका कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)