समाचार
हल्दिबारी संवाददाता १९ मिनेट अगाडि

लागूऔषध ब्राउन सुगरसहित बिर्तामोडबाट पार्वता राजवंशी पक्राउ

झापाको बिर्तामोडबाट लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छन्। प्रहरीले उनको साथबाट प्लास्टिकबाहेक १८ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर र १३ लाख ३९ हजार रुपैयाँ नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी स्थायी घर भई हाल बिर्तामोड नगरपालिका–५ जिर्गाटोलस्थित वसन्त पवन तिम्सिनाको घरमा कोठा भाडामा लिएर बस्दै आएकी ३६ वर्षीया पार्वता राजवंशी रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार साँझ करिब ५ बजे शङ्कास्पद अवस्थामा रहेकी राजवंशीको कोठामा खानतलासी गरेको थियो। खानतलासीका क्रममा प्लास्टिकसहित २२ ग्राम २७० मिलिग्राम र प्लास्टिकबाहेक १८ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले उनको कोठाबाट लागूऔषध कारोबारमा प्रयोग हुने एक थान छुरी, एक थान कैँची, एक थान डिजिटल तराजु, १३ लाख ३९ हजार रुपैयाँ नगद र दुई थान मोबाइल समेत बरामद गरेको छ। बरामद लागूऔषध, नगद तथा अन्य सामग्रीसहित राजवंशीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)