काठमाडौं । नेपालमा आइतबारदेखि दक्षिण एसियाली खेलकुद (साग)को १३औं संस्करणका खेलहरु भइरहेका छन् । १३औं सागको नेपाल आयोजक राष्ट्र हो । सागको इतिहासमा नेपालले यसपटक आफ्नो उत्कृष्ट क्षमता देखाइरहेको छ । यो समाचार तयार पर्दासम्म नेपाल सागको पद तालिकामा २९ स्वर्ण पदकसहित अग्रस्थानमा छ । यससँगै नेपालले १४ रजत र १९ कास्य पदक जित हात पारेको छ ।
नेपाललाई पदक तालिका पछ्याइरहेको भारतले २५ स्वर्णपदकसहित दोस्रो स्थानमा छ । उसले रजत १९ र कास्य १२ पदक जितेको छ । पाकिस्तान ८ स्वर्ण, १५ रजत र १२ कास्य गरी ३६ पदक जितेको छ भने श्रीलंकाले सात स्वर्ण, १८ रजत र ३२ कास्य पदक हात पारेको छ । बंगलादेशले ४ स्वर्ण, ७ रजत र २४ कास्य जितेको छ भने माल्दिभ्सले एउटा स्वर्ण, २ कास्य तथा भुटानले ३ कास्य जितेको छ ।
यो अंक तालिकाअनुसार नेपाल अग्रस्थानमा छ । ३५ वर्षअघि सन् १९८४ मा काठमाडौंमा भएको पहिलो सागमा म्याराथन धावक बैकुण्ठ मानन्धरले नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए। त्यस बेला नेपालले १५ पदक मात्रै जित्न सकेको थियो। १९९९ मा काठमाडौंमा भएको सागको आठौं संस्करणमा नेपालले सबैभन्दा बढी ३१ स्वर्ण जितेको थियो। त्यसयताको ४ संस्करणमा नेपालले २५ स्वर्ण जितेको थियो। तर, जारी १३औं सागमा पनि नेपालले स्वर्णसहित अग्रस्थानमा रहेर आफ्नो साखलाई कायम राखेको छ ।