हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

एमालेसँगको सहकार्यको विषयमा यसो भने प्रचण्डले

नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन् । प्रेस सङ्गठन नेपाल प्रदेश समितिद्वारा आज मोरङको विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आगामी निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवरुद्ध गर्ने पक्षबीच प्रतिस्पर्धा हुन्छ ।’

Advertisement

अध्यक्ष दाहालले आफ्नो विचार, एजेण्डा, भिजन प्रस्तुत गरेर आफ्नै बलमा चुनाव जित्ने प्राथमिकतासहित जनतासमक्ष जाने उल्लेख गर्दै चुनाव नजिक आउँदै गर्दा मुद्दा मिल्नेहरू र लेनदेन गर्न सहज हुनेहरुबीच गठबन्धन पनि हुनसक्ने बताए । ‘आगामी चुनाव परिवर्तनलाई संस्थागत गर्ने र उल्ट्याउन खोज्नेहरूको प्रतिस्पर्धा हुन्छ’, उनले भने, ‘गठबन्धनका पार्टीहरुबीच तालमेल होस् भन्ने हाम्रो जोड हुन्छ ।’

Advertisement

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले नेपाली कांग्रेस नेतृत्वको प्रधानमन्त्रीले गठबन्धन पार्टीबीच मिलेर चुनावमा जाने भन्नु भएकाले यसलाई गठबन्धनले सकारात्मक रुपमा लिएको बताए । उनले एमाले नेतृत्वसँग संसद् अवरुद्ध नगर्ने विषयमा गठबन्धन दलका शीर्ष नेतृत्वले छलफल गरेको तर सहमति नभएकाले विकल्पका रुपमा संसद् अवरुद्धबीच विधेयक पास गरी तोकिएको समयमा नै संसद्को निर्वाचन सम्पन्न गर्ने विषयमा गठबन्धन दलबीच सहमति भएको जानकारी दिए ।

मोरङको रङ्गेली नगरपालिका प्रमुखले माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेको सम्बन्धमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा अध्यक्ष दाहालले केही मान्छे पार्टी छोड्ने तथा आउने जाने क्रम चलिरहन्छ, त्यो उहाँहरूको व्यक्तिगत स्वार्थका कारणले भएको स्पष्ट पारे । उनले तत्काल एमालेसँग निर्वाचनमा सहमति कायम राख्ने कुनै सम्भावना नरहेको बताउँदै काँग्रेससँग कतिपय स्थानमा गठबन्धन गरी जान सकिने बताए । उनले माओवादी विचारधारा मिल्ने वामपन्थी दलसँग गठबन्धन गरी निर्वाचन जान सक्ने बताए । अध्यक्ष दाहालले एमसीसीको व्याख्या सहितको सम्मानजनक कार्यान्वयन हुने बताउँदै राष्ट्रिय स्वाधीनतासहित विकासमा यसले मद्दत गर्ने विश्वास व्यक्त गरे ।रासस

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)