हल्दिबारी । झापा जिल्लाबाट गत एक वर्षको अवधिमा हराएका ६६७ जनामध्ये ६५३ जना फेला परेका छन् भने १४ जना अझै बेपत्ता रहेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कअनुसार प्रहरीको सक्रिय खोजी र अनुसन्धानका कारण अधिकांश व्यक्ति सुरक्षित रूपमा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रञ्जन अवाले सरोकारवाला निकायहरूसँगको समन्वयका कारण हराएका व्यक्तिहरूलाई फेला पार्न सहज भएको बताए।
”दर्ता भएका हुलियाका आधारमा प्रहरी टोलीले निरन्तर खोजी गर्दा अधिकांशलाई फेला पार्न सफल भएका छौँ। अझै बेपत्ता रहेका १४ जनाको खोजी कार्य पनि प्राथमिकताका साथ जारी छ,” डिएसपी अवाले भने।
यसैबिच, गत आर्थिक वर्षमा जिल्लाभर दर्ता भएका घरेलु तथा महिला हिंसासम्बन्धी सम्पूर्ण उजुरी फछ्र्यौट भएको प्रहरीले जनाएको छ।
प्रहरी तथ्याङ्कअनुसार वर्षभरिमा घरेलु तथा महिला हिंसासम्बन्धी १२३ वटा उजुरी परेका थिए। ती सबै उजुरीको आवश्यक कानुनी प्रक्रिया र परामर्शमार्फत समाधान गरिएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको पहलमा घटनाको प्रकृति हेरी कानुनी कारबाही, सचेतना र दुवै पक्षबिच छलफल गराई मेलमिलाप गराइएको हो।
पीडितलाई न्याय दिलाउन र विवाद समाधानका लागि उजुरी प्राप्त हुनासाथ अनुसन्धान प्रक्रिया अघि बढाउने गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
