झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणको सिलसिलामा नयाँ दिल्ली पुगेका छन्। दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ उनलाई भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेताहरूले भव्य स्वागत गरेका हुन्।

​सभापति लामिछानेलाई स्वागत गर्न भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेसहितको उच्चस्तरीय टोली विमानस्थल पुगेको थियो। विमानस्थलमा नेताहरूबीच संक्षिप्त संवाद भएको र दुई देशबीचको आपसी सम्बन्ध, राजनीतिक सहकार्य तथा समसामयिक विषयमा केन्द्रित रहेर यो भ्रमण अघि बढेको बुझिएको छ।

​यस क्रममा भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले नेपालको उदाउँदो राजनीतिक शक्तिका नेतृत्वलाई भारतमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै यो भ्रमणले दुई देशका राजनीतिक दलहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे।

​भ्रमणका क्रममा रास्वपा सभापति लामिछानेले भाजपाका अन्य वरिष्ठ नेताहरू, भारतीय सरकारका मन्त्रीहरू तथा कूटनीतिज्ञहरूसँग उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। रास्वपाले यस भ्रमणलाई आफ्नो दलको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र राष्ट्रिय हितका एजेन्डाहरूमा छिमेकी मुलुकसँगको समझदारी सुदृढ गर्ने महत्त्वपूर्ण अवसरको रूपमा लिएको छ। भ्रमण टोलीमा रास्वपाका अन्य केन्द्रीय नेताहरूको समेत सहभागिता रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार