अभिषेक खतिवडा/ झापा, साउन

कमल गाउँपालिका–५ र ६ को सीमावर्ती मंगलबारे बजारपूर्व काँटा चोक नजिकै रहेको गेउरिया खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ। पुल निर्माणसँगै लामो समयदेखि वर्षायाममा स्थानीयवासीले भोग्दै आएको आवागमनको सास्ती हटेको छ।

यसअघि कजवे पुलबाट आवतजावत हुँदै आएको उक्त क्षेत्रमा बर्खामा खोलाको बहाव बढ्दा आवतजावत ठप्प हुने गरेको थियो। नयाँ पक्की पुल सञ्चालनमा आएसँगै साविक तोपगाछी र लखनपुर क्षेत्रलाई जोड्ने कृषि सडक भएर दमकसम्मको यात्रा सहज र सुरक्षित बनेको छ।
पुल निर्माणले स्थानीयवासी, किसान र सर्वसाधारणको वर्षौँदेखिको सास्ती दीर्घकालीन रूपमा समाधान भएको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताए। “यो पुलले साविक तोपगाछी र लखनपुरलाई जोड्नुका साथै दमकसम्मको पहुँचलाई थप सहज बनाएको छ,” अध्यक्ष राईले भने।
कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु. १ करोड ३१ लाख ४६ हजार लागतमा पुल निर्माण गरिएको हो। पुलबाट सवारीसाधनको आउजाउ सुरु भइसकेको छ भने बाँकी रहेको रङरोगनको काम पनि छिट्टै सकिने मन्त्रालयले जनाएको छ।
कृषि उपज बजारीकरणका लागि महत्त्वपूर्ण मानिएको यस सडकखण्डमा पुल बनेपछि स्थानीय किसानहरू बढी लाभान्वित भएका छन्।
पछिल्लो समय गाउँपालिका अध्यक्ष राईको नेतृत्वमा कमल गाउँपालिकाले भौतिक पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन क्षेत्रको एकीकृत विकासलाई प्राथमिकता दिँदै आएको छ।
