हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापाका १५ वटै पालिकालाई बालमैत्री बनाउने दलका नेताहरुको प्रतिवद्धता

बिर्तामोड २४ । झापाका १५ वटै पालिकालाई बालमैत्री बनाउने जिल्लाका प्रमुख राजनीतिक दलका नेताहरुले प्रतिवद्धता जनाएका छन् ।

Advertisement

स्थानीय तहको आ–आफ्नो चुनावी घोषणापत्रमा सबै पालिकालाई बालमैत्री बनाउने कुरा उल्लेख गरेर कार्यान्वयन गर्ने उनीहरुले प्रतिवद्धता जनाएका हुन् ।

Advertisement

प्रथम बहुउद्देश्यीय सहकारी संस्था र बालबालिका तथा शिक्षा संचार मंच नेपालले आयोजना गरेको स्थानीय निर्वाचनको सन्दर्भमा बालमैत्रीका सवालहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबेले जिल्लाका १५ वटै पालिकालाई बालमैत्री बनाउने कुरा आफ्नो पार्टीको चुनावी घोषणापत्रमा उल्लेख गर्ने र त्यसलाई कार्यान्वयन पनि गर्ने प्रतिवद्धता जनाए । उनले आफ्नो पार्टीले जनतालाई झुक्याउने खालको नभई व्यवहारमा उतार्ने खालको चुनावी घोषणापत्र बनाउने बताए ।

नेकपा माओवादी केन्द्र झापाका जिल्ला संयोजक राजु आचार्यले बालबालिकाहरुलाई निर्वाचनका बेला जुलुश , सभा समारोहमा प्रयोग नगर्ने प्रतिवद्धता जनाए । उनले फरक–फरक सामाजिक र आर्थिक परिवेश भएको नेपालमा एकैसाथ बाल अधिकारका कुराहरु अघि बढ्न नसकेको भन्दै सापेक्षित रुपमा त्यसलाई बढाउनु पर्नेमा जोड दिए ।

नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष वेदराज रेग्मीले बाल अधिकारका लागि सबै परिवारमा चेतना जगाउनु पर्नेमा जोड दिए ।‘ चेतनासंगै अधिकारको कुरा पनि आउँछ’ उनले भने,‘ अधिकारका लागि पहुँचको कुरा पनि आउँछ ।’

कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सदस्य देवराज कार्कीले बालबालिकाको सर्वाङ्गीण विकासको लागि आफ्नो पार्टी सचेत र प्रतिवद्ध रहेको बताए । उनले एमालेले जितेका पालिकामा बालमैत्रीको पहिलो नारा गुन्जने उल्लेख गरे ।बालबालिका तथा शिक्षा संचार मंचका अध्यक्ष सरोज पौडेलको अध्यक्षता रहेको कार्यक्रममा भद्रपुर बाल क्लबकी अध्यक्ष भावना पोखरेल , कनकाई बाल क्लबका अध्यक्ष अभिशेख मिश्र ,शैशव मञ्चका टिकाराम बास्तोलाले बाल अधिकारका विषयमा आआफ्ना जिज्ञासा राखेका थिए ।

दिपक पाण्डेले संचालन गरेको कार्यक्रमको उद्धेश्यमाथि फणिन्द्र दाहालले प्रकाश पारेका थिए । कार्यक्रममा विभिन्न बाल क्लबका प्रतिनिधि र संचारकर्मीहरुको सहभागिता रहेको थियो । संचार मञ्चले झापामा बालबालिकाका लागि विभिन्न गतिविधि गर्दै आएको छ । हाल झापा,इलाम,मोरङ र पाँचथरका विभिन्न ५ वटा रेडियो मार्फत बालबालिका र शिक्षा कार्यक्रम समेत प्रसारण हुँदै आएको र आगामी दिनमा बालबालिकाका विषयमा गम्भीर भएर लाग्न राजनीतिक नेतृत्वलाई मञ्चले आग्रह गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)