समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

पूर्वाञ्चल क्यान्सर अस्पतालले सुरु गर्‍यो पेट सिटी स्क्यान

हल्दिबारी, १६ भदौ । पूर्वाञ्चल क्यान्सर अस्पतालले पेट सिटी स्क्यान सेवा सुरु गरेको छ । काठमाडौं उपत्यका बाहिर पहिलोपटक सो सेवा पूर्वाञ्चल क्यान्सर अस्पतालले सुरु गरेको हो ।

Advertisement

५१ वर्षीय मुखको क्यान्सरबाट पीडित बिरामीको परीक्षण गरी सो सेवा सुरु गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. विरेन्द्र यादवले जानकारी दिए । पहिलो दिन ९ जना बिरामीले सो सेवा लिएका छन् । अस्पतालले आगामी दिनमा दैनिक १० देखि १५ जना बिरामीलाई यो सेवा दिने गरी तयारी गरेको उनले जानकारी दिए ।

Advertisement

अस्पतालले एक जना बिरामीको एक पटकको पेट सिटी स्क्यान गर्न ६० हजार रुपैयाँ तोकेको छ । तर, सुरुका दुई महिनालाई भने १५ हजार डिस्काउन्ट गरी ४५ हजारमा दिने मेडिकल डाइरेक्टर डा. यादवले बताए । क्यान्सरको फैलावट र अवस्था पत्ता लगाउन पेट सिटी स्क्यान अनिवार्य रहेको अस्पतालका न्युक्लीयर मेडिसिन विभागका प्रमुख डा. रितेश उपाध्यायले बताए । ‘क्यान्सर कुन अवस्थामा छ, कहाँ कहाँ फैलिएको छ, औषधी उपचारले कति असर गरेको छ भन्ने कुरा थाहा पाउन पेट सिटी स्क्यान अनिवार्य चाहिन्छ,’ उनले भने, ‘यो प्रविधी बिना क्यानसर उपचार प्रविधी अपूरो रहन्छ ।’ पुूर्वाञ्चलले २ वर्षअघि पेट स्क्यान मेसिन जडान गरेतापनि त्यसमा प्रयोग हुने आइसोटप सम्बन्धी कानुनी व्यवस्था नहुँदा सेवा संचालनमा ढिला भएको डा. यादवले बताए ।

‘पूर्वाञ्चलले पेट सिटी मेसिन दुई वर्ष अघिनै ल्याएर सेवा सुरु गर्ने तयारी गरेको थियो,’ डा. यादवले भने, ‘रेडियोधर्मी सम्बन्धी कानुन नहुँदा त्यसमा प्रयोग हुने आइसोटप ल्याउन समस्या भएर ढिलो भयो ।’ सरकारले रेडियोधर्मी सम्बन्धी कानुन बनाएसँगै अस्पतालको अनुगमन गरी लाइसेन्स दिएपछि सेवा सुरु गरेको उनले जानकारी दिए । पेट सिटी स्क्यानको लागि प्रयोग हुने आइसोटप भारतको कलकत्ताबाट हवाइजहाजमार्फत बागडुगरा हुँदै १ घण्टा अस्पतालमा आइपुग्ने हुँदा क्वालिटी पनि राम्रो हुने डा. यादवले जानकारी दिए । ‘हामीलाई भारतको बागडुगुरामा भएको एयरपोर्टको कारणले गर्दा आइसोटप छोटो समयमा ल्याउन सहज छ,’ उनले भने, ‘आइसोटप बनाइएको जति छोटो समयमा प्रयोग गर्न सक्यो त्यति नै किफायती र प्रभावकारी हुन्छ ।’ अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले अब क्यान्सरका बिरामीले पेट सिटी स्क्यान गर्न भारत जानुनपर्ने बताए ।

‘भारतका अस्पतालले लिने शुल्कमानै हामी दैनिक यही यो सेवा उपलब्ध गराउँछौं,’ उनले भने, ‘अब पेट सिटी गर्नकै लागि भारत जानुपर्ने बाध्यता हटेको छ ।’ पूर्वाञ्चल क्यान्सर अस्पताल पेट स्क्यान सुरु गर्ने पहिलो क्यान्सर अस्पताल भएको छ । यसअघि काठमाडौंमा कुण्डलिनी र सौर्य डायग्नोष्टिक सेन्टरमा पेट सिटी स्क्यान सेवा हप्तामा एक दिन दिदै आएका छन् । नेपालमा पेट सिटी सेवा नियमित नहुँदा महिनामा ४ देखि ५ सय बिरामी यो सेवा लिन भारतलगायत विदेश जाने गरेको चिकित्सकहरुले बताउँदैं आएका छन् । भारतमा यो सेवाप्रति विरामी भारु ४० हजारसम्म लिने गरेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article