धर्म
हल्दिबारी संवाददाता १२ महिना अगाडि

भद्रपुरमा छठ पूजा सहित गंगा आरती गरियो

द्रोण अधिकारी (भद्रपुर)

कोशी प्रदेशको सर्वाधिक जनसहभागिता रहने छठ पूजा स्थलको पहिचान बनाएको भद्रपुरस्थित मेची नदीमा नेपाल तथा भारततिरबाट वारिपारि भव्य रूपमा छठ पूजा गरिएको छ।

तराइबासीको महत्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी, मारवाडी, बंगालीलगायत विभिन्न समुदायको साझा सहभागिता रहेको छ। अस्ताउँदो सूर्यलाई अर्घ दिँदै भक्तजनले छठी माताको पूजा अर्चना गरेका हुन्।

नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने भद्रपुरस्थित मेची नदीमा करिब तीन किलोमिटर क्षेत्रमा एक हजारभन्दा बढी पूजा स्थल निर्माण गरी दुवै देशका भक्तजनले सहभागिता जनाएका छन्। नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती गरेका छन् भने विभिन्न सामाजिक संस्थाले भक्तजनका लागि निःशुल्क पानी र चियाको व्यवस्था गरेका छन्।

पछिल्ला वर्षहरूमा भद्रपुर र भारतको गलगलियाका स्थानीयले यस पर्वलाई समावेशी र साझा पर्वका रूपमा मनाउने गरेका छन्। चार दिनसम्म चल्ने यस पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिइएपछि पर्व सम्पन्न हुन्छ।

मैथिल समाजका अग्रज विकासकुमार गुप्ताका अनुसार जनकपुरपछि जनसहभागिताका हिसाबले भद्रपुर दोस्रो ठूलो छठ स्थल बनेको हो।

झापाका मेची, हडिया, देउनिया, अदुवा, बिरिङ, कन्काई, र रतुवा नदी किनारमा पनि भव्य रूपमा छठ पूजा सम्पन्न गरिएको छ।

यसैबीच छठ पर्वको अवसरमा मेची घाटस्थित छठी माता मन्दिर परिसरमा गंगा आरतीको आयोजना गरिएको छ।

भद्रपुर नगरपालिकाले आयोजना गरेको गंगा आरतीको सुरुवात नगर प्रमुख गणेश पोखरेलले गरेका थिए।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)