हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ हप्ता अगाडि

झापाको हल्दिबारीसहित विभिन्न पालिकामा फैलियो जापानी इन्सेफेलाइटिस: चार महिनामा ५ को मृत्यु, ९ सङ्क्रमित

झापा । झापाको हल्दिबारीसहित जिल्लाका विभिन्न भागमा जापानी इन्सेफेलाइटिस (जेई) सङ्क्रमणका कारण पछिल्लो चार महिनाको अवधिमा पाँच जनाको मृत्यु भएको छ।

Advertisement

​स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा पाँच जनाको ज्यान गएको हो। मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन्।

Advertisement

​सङ्क्रमण पुष्टि हुनेहरूमा हल्दिबारीका एक, मेचीनगरका तीन, बिर्तामोडका दुई तथा बाह्रदशी, कचनकवल र अर्जुनधाराका एक–एक जना रहेका छन्।

​स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार सङ्क्रमित हुनेहरूमा अधिकांश ५० वर्षभन्दा माथिका उमेर समूहका व्यक्तिहरू रहेका छन्।

के हो जापानी इन्सेफेलाइटिस?

​जापानी इन्सेफेलाइटिस क्युलेक्स जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो। सङ्क्रमण भएपछि यस भाइरसले सोझै मानिसको मस्तिष्कमा गम्भीर असर पुर्‍याउने गर्दछ।

​विशेषगरी सुँगुर, बङ्गुर र हाँसलाई जेई भाइरसको मुख्य स्रोत (रिजर्भोयर) मानिन्छ। त्यसैले सुँगुर पालन गर्ने व्यक्तिहरू, धानखेत र पानी जम्ने क्षेत्र आसपास बसोबास गर्ने समुदाय जेई सङ्क्रमणको उच्च जोखिममा रहने गर्छन्।

बच्न सतर्कता र खोप लगाउन आग्रह

​सङ्क्रमणको जोखिम बढेसँगै स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले जेईबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्नेमा जोड दिनुभएको छ।

​उहाँले सरकारले सञ्चालन गर्ने नियमित खोप कार्यक्रममा अनिवार्य सहभागी भई जेईविरुद्धको खोप लगाउन र झुल टाँगेर सुत्ने तथा घरआसपास पानी जम्न नदिने जस्ता सचेतना अपनाउन आग्रह गर्नुभएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)