समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

झापामा अनलाइन जुवा र क्रिप्टोको अवैध साम्राज्य: ३५ करोडभन्दा बढीको कारोबारमा दुई जना मुछिए, मेचे कारागार चलान त गिरी धरौटीमा रिहा

झापा। झापामा अनलाइन सट्टाबाजी र क्रिप्टोकरेन्सीमार्फत गैरकानुनी सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) गरेको अभियोगमा प्रहरीले दुई जनामाथि ठूलो सफलता हात पारेको छ। अनलाइन जुवा तथा क्रिप्टो कारोबारबाट सम्पत्ति शुद्धीकरणमा गएको झापाको यो पहिलो मुद्दामा दुई प्रतिवादीको खाताबाट ३५ करोड रूपैयाँभन्दा बढीको अवैध कारोबार भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले गरेको तीन महिना लामो सूक्ष्म अनुसन्धानबाट बिर्तामोड–६ का ३६ वर्षीय भुवन मेचे र मेचीनगर–१० का २७ वर्षीय विपिन गिरीको विशाल सञ्जाल पर्दाफास भएको हो।

Advertisement

​प्रहरी अनुसन्धान अनुसार भुवन मेचेको खाताबाट मात्रै साढे २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। मेचेले २५ वटा भन्दा बढी बैंक खाता सञ्चालन गर्दै आएका थिए भने दुई वर्षको अवधिमा ती खाताबाट १८ हजार ५०७ पटक वित्तीय कारोबार भएको देखिएको छ। मेचेको साथबाट बरामद तीन थान मोबाइल खोल्दा एउटा आईडीमा ४ लाख ३९ हजार ९९५ रुपैयाँ ब्यालेन्स र २ करोड ९४ लाख रुपैयाँको ट्रान्जिट लिमिट देखियो। त्यसैगरी ‘Move Cash’ नामक एपमार्फत ५ करोड ९४ लाख ६२ हजार १४० रुपैयाँ जम्मा भएको र ६ करोड ६३ लाख २० हजार ५४० रुपैयाँ निकालिएको पाइएको छ। मेचेले आफ्नै दिदी कविता मेचेको मेल आईडी प्रयोग गर्नुका साथै मिलन लिम्बू, आयुस अधिकारी र समिर लिम्बू लगायतका मानिसहरूका ६ वटा बैंक खाता ‘हायर’ गरेर कारोबार चलाएका थिए।

Advertisement

​यता झापा जिल्ला अदालतका न्यायाधीश नारायण रिमालको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७(१)(ख) बमोजिम मेचेलाई पुर्पक्षका लागि झापा कारागार पठाउने आदेश दिएको छ। उनीमाथि १ करोड ५ लाख ३७ हजार ८८७ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको थियो।

​अर्का प्रतिवादी विपिन गिरीको खाताबाट भने करिब १२ करोड रुपैयाँको कारोबार भएको अनुसन्धानमा भेटिएको छ। गिरीको मोबाइलमा ‘1xBet Partners’ एपका विभिन्न आईडीहरू लगइन भएका भेटिएका थिए, जसमध्ये विभिन्न आईडीबाट मात्रै ५८ लाख ३५ हजार ६२८ रुपैयाँ कमिसन भुक्तानी लिएको देखिएको छ। गैरकानुनी बाटोबाट आर्जन गरेको रकमलाई वैधानिकता दिन गिरीले आफ्ना र निकट व्यक्तिहरूका खातामा पैसा रकमान्तरण गरी घरजग्गामा लगानी गरेको खुलेको छ। गिरीमाथि ९४ लाख १८ हजार ८७४ रुपैयाँ बिगो कायम गरी मुद्दा चलाइएकोमा झापा जिल्ला अदालतका न्यायाधीश पारसमणी पोखरेलको इजलासले उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।

​अवैध धन्दा चलाइरहेका मेचे र गिरीले कानुनी कारबाहीबाट बच्न चाखलाग्दो हत्कण्डा समेत अपनाएका थिए। उनीहरूले देखावटी रूपमा आधिकारिक कम्पनी दर्ता गरी आन्तरिक राजस्व कार्यालय भद्रपुरमा नियमित कर समेत तिरिरहेको अनुसन्धानमा खुलेको छ। सुरुमा एजेन्टका रूपमा छिरेका उनीहरू पछि ‘मर्चेन्ट’ बनेका थिए। मेचेले बयानका क्रममा अनलाइन जुवा खेलाएबापत २ देखि ५ प्रतिशतसम्म नाफा पाउने गरेको स्वीकारेका छन्।

​तीन महिनाअघि बिर्तामोडका दुई फरक क्याफेबाट नियन्त्रणमा लिइएका उनीहरूमाथि इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मनिश लुइटेलले गहन अनुसन्धान गरेका थिए। झापामा अनलाइन जुवाको ठूलो सञ्जाल रहेको र यसबाट सयौँ युवाहरू ठगिएर उठीबास लागेको आशङ्का गरिए पनि, जुवा आफैँमा अवैध भएकाले प्रहरीसमक्ष औपचारिक ठगी वा हारको उजुरी दिन भने कोही पनि अगाडि आएका छैनन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article