विनोद कुमार दाहाल काठमाडौँ। । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशनबाट निर्वाचित भएका गगन थापालाई पार्टी सभापतिका रूपमा स्वीकार गर्न पटक्कै मन नलागेको बताएका छन्।

शुक्रबार काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले विशेष महाधिवेशनलाई कुनै पनि हालतमा मान्यता दिन सकिँदैन भन्दै अवैधानिक ढंगले विशेष महाधिवेशन गरेर थापा सभापति बनेको आरोप लगाए।

निर्वाचन आयोगले यसअघि मान्यता दिएको भए पनि अब सर्वोच्च अदालतमा पुनरावलोकन हुने भएकाले गल्ती सच्याउने अवसर खुलेको उनको भनाइ थियो। “मानिसबाट गल्ती हुन्छ। आत्मसात् गर्नुपर्छ, सच्याउन सक्नुपर्छ। गल्ती सच्याउने अवसर छ,” सिटौलाले भने, “तपाईले आँट गर्ने हो, सर्वोच्च अदालतले खोलेको ढोकामा के गर्नुपर्छ, गर्नुस्।” साथै, उनले थापालाई अरूलाई नसोधी आफ्नै अन्तरआत्मालाई सोधेर निर्णय लिन सुझाए।
सिटौलाले अहिले थापाले अरूलाई दोष दिए पनि केपी शर्मा ओली नेतृत्वको सरकार सञ्चालन गर्ने संयन्त्रमा बसेर उनी आफैँले सरकार सञ्चालन गरेको स्मरण गराए। निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण भए पनि अब सर्वोच्च अदालतबाट नेपाली कांग्रेसले न्याय पाउनेमा आफू विश्वस्त रहेको उनले बताए।
सोही क्रममा, गत भदौ २४ गते सभापति शेरबहादुर देउवा र नेत्री आरजु देउवा राणामाथि भएको आक्रमणको प्रसंग कोट्याउँदै सिटौलाले तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसको चरित्र र सामान्य मानवीय समवेदना समेत गुमाएको टिप्पणी गरे। अरूलाई सहयोग गर्नु नै कांग्रेसको मूल चरित्र भएको उल्लेख गर्दै उनले युवा पुस्तालाई थापा र शर्माको जस्तो मानवीयता नगुमाउन आग्रह गर्दै भने, “जीवनमा यस्तो गल्ती कहिल्यै नगर्नुस्।” फाइल तस्बिर
