अभिषेक खतिवडा
हल्दिबारी, झापा । झापाको हल्दिबारी–३ सहित जलथल क्षेत्रमा जंगली हात्तीको आतंक पछिल्ला दिनमा पुनः बढ्दै गएको छ। केही दिनयता लगातार बस्ती प्रवेश गरिरहेका हात्तीले घर, बालीनाली तथा भौतिक संरचनामा क्षति पुर्याउन थालेपछि स्थानीयवासी त्रासमा बाँच्न बाध्य भएका छन्।

शुक्रबार राति करिब ११ः३० बजेदेखि पुरानो ढडुवा हुँदै दक्षिणतर्फबाट तीनवटा जंगली हात्ती गाउँ प्रवेश गरेका थिए। हात्तीले किशोर बानियाँ,आकाश आचार्य ,अर्जुन खड्का, स्व. कमलमणि काफ्ले, कपिलमणि प्याकुरेल, अम्बिका देवी खड्कालगायत स्थानीयका घर तथा बालीनालीमा क्षति पुर्याएको स्थानीयले बताएका छन्। हात्तीले केही भौतिक संरचनामा समेत क्षति पुर्याएको बताइएको छ।

हात्ती रातभर गाउँ वरपर घुमिरहेपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएका थिए। घरभित्र रहेका महिला, बालबालिका तथा वृद्धवृद्धासमेत त्रासमा रात कटाउनुपर्ने अवस्था आएको स्थानीयको गुनासो छ।
हल्दिबारी तथा जलथल क्षेत्रमा जंगली हात्तीको समस्या वर्षौंदेखि रहँदै आएको छ। जंगल गस्ती, दैनिक कार्य सञ्चालन तथा हात्तीबाट बस्ती र बालीनाली जोगाउने क्रममा समेत यस क्षेत्रमा विगतमा धेरै मानिसले जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाइसकेको स्थानीयको भनाइ छ।
यसकारण अहिले देखिएको हात्तीको आगमनलाई सामान्य वन्यजन्तु आवागमनका रूपमा मात्र हेर्न नहुने स्थानीय बताउँछन्। विगतमा मानवीय क्षतिसमेत भइसकेको संवेदनशील क्षेत्रमा हात्तीको आवागमन बढ्दै जाँदा जोखिम झनै गम्भीर बनेको छ।
जलथल क्षेत्र जंगलसँग जोडिएको संवेदनशील भूभाग भएकाले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी र दीर्घकालीन योजना आवश्यक देखिएको छ। हात्ती गाउँ पसेपछि धपाउने वा क्षति भएपछि राहत दिनेभन्दा पनि हात्ती बस्ती प्रवेश गर्न नदिने स्थायी तथा वैज्ञानिक व्यवस्थापनमा ध्यान दिनुपर्ने स्थानीयको माग छ।
स्थानीयवासीले सम्बन्धित निकायसँग तत्काल जोखिमयुक्त क्षेत्रमा निगरानी तथा सुरक्षा व्यवस्था बढाउन, हात्ती नियन्त्रण तथा व्यवस्थापनका प्रभावकारी उपाय अपनाउन, क्षतिको उचित मूल्याङ्कन गरी राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि दीर्घकालीन योजना कार्यान्वयन गर्न माग गरेका छन्।
आखिर अझै कति घर भत्किनुपर्ने हो?अझै कति बालीनाली नष्ट हुनुपर्ने हो?अझै कति परिवार रातभर त्रासमा बस्नुपर्ने हो?र, विगतमा जस्तै फेरि कसैको ज्यान गएपछि मात्रै सम्बन्धित निकाय गम्भीर बन्ने हो?
स्थानीयवासीको प्रश्न गम्भीर छ। हात्तीको आतंकलाई सामान्य घटनाका रूपमा बेवास्ता गर्ने हो भने आगामी दिनमा क्षति अझ भयावह बन्न सक्छ।
स्थानीयको ज्यान, घर र धनमालको सुरक्षा पहिलो प्राथमिकता बनोस्। विगतका मानवीय क्षतिबाट पाठ सिक्दै सम्भावित अर्को दुर्घटना हुनुअघि नै सम्बन्धित निकायले तत्काल ठोस, प्रभावकारी र दीर्घकालीन कदम चालोस्।
