काठमाडौं। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा आज बानेश्वरस्थित चक्कु बख्खु पार्कमा सुदूरपश्चिम सरोकार मञ्चको आयोजनामा प्रथम रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

प्रतिकूल मौसमका बीच आयोजना गरिएको उक्त कार्यक्रममा हावाहुरी र पानीको प्रवाह नगरी २७ जना स्वयंसेवी महिला तथा पुरुषले रक्तदान गरेका छन्।

कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि प्रेमसागर कर्माचार्यले ३५औं पटक रक्तदान गर्न लाग्नुभएका राजन बिडारीलाई रक्त संकलन थैली हस्तान्तरण गरेर गर्नुभएको थियो।
वरिष्ठ समाजसेवी तथा रक्तदान अभियन्ता जगदीश के.सी.को पूर्ण संयोजनमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व सुदूरपश्चिम सरोकार मञ्चका अध्यक्ष डा. दीर्घ सिंह बमले गर्नुभएको थियो।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य सुशील घर्ती, डोटेली समाजका कार्यवाहक अध्यक्ष करुणा शाही लगायतका व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।
अस्पतालहरूमा रगतको अभाव भइरहेको अवस्थामा मञ्चले पहिलोपटक आयोजना गरेको यो अभियानले बिरामीहरूको जीवन रक्षाका लागि महत्त्वपूर्ण योगदान पुर्याउने आयोजकले जनाएको छ।
