समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

भारतीय सेनाध्यक्ष जनरल धीरज सेठलाई नेपाली सेनाको ‘मानद महारथी’ उपाधि प्रदान

काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय थल सेनाध्यक्ष जनरल धीरज सेठलाई नेपाली सेनाको ‘मानद महारथी’ (मानद जनरल) उपाधिबाट विभूषित गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई उक्त उपाधि प्रदान गरेका हुन्।

Advertisement

​समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री, प्रधानसेनापति अशोकराज सिग्देल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव लगायत उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। नेपाल र भारतबीच विगत ७६ वर्षदेखि एक-अर्का देशका सेनाप्रमुखलाई मानद महारथीको उपाधि दिने विशिष्ट र ऐतिहासिक परम्परा निरन्तर चल्दै आएको छ।

Advertisement

​भ्रमणका क्रममा जनरल सेठले टुँडिखेलस्थित सैनिक मञ्चमा वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै जङ्गी अड्डामा गार्ड अफ अनर ग्रहण गरेका थिए। उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग द्विपक्षीय हित, रक्षा सहयोग र दुई देशका सेनाबीचको सहकार्यलाई अझ मजबुत बनाउने विषयमा औपचारिक छलफलसमेत गरेका छन्।

​नेपाल र भारतबीचको भौगोलिक निकटता र सांस्कृतिक सम्बन्धसँगै सैन्य तहमा रहेको यो ऐतिहासिक भ्रातृत्वले दुवै देशको रणनीतिक तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ। 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article