पश्चिम बङ्गाल (भारत)। भारतको पश्चिम बङ्गालस्थित प्रसिद्ध धार्मिकस्थल तारापीठको एक होटलमा भएको भीषण आगलागीमा परी एकै परिवारका पाँच जनाको दुःखद निधन भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार मृतकहरू मेघालयको वेस्ट गारो हिल्स, डालु चोइपानीका बासिन्दा हुन्।

निधन हुनेहरूमा राजेन्द्र नाथ, उनकी पत्नी आशा नाथ, बुरान मोदक तथा दुई बालबालिका १० वर्षीय शिवराज मोदक र ८ वर्षीय औशनाथ मोदक रहेका छन्। उनीहरू धार्मिक यात्राका क्रममा तारापीठ दर्शनका लागि त्यहाँ पुगेका थिए। सोमबार बिहानै तारापीठस्थित ‘होटल बिदेशिनी’मा अचानक सल्किएको भीषण आगोमा परी कुल नौ जनाको ज्यान गएको छ, जसमा पाँच जना एकै परिवारका परेका हुन्।

उक्त टोलीका अन्य छ जना सदस्यलाई भने टोलीले सकुशल उद्धार गरी उपचारका लागि स्थानीय अस्पताल भर्ना गरेको छ। तीर्थयात्राका क्रममा घटेको यस अप्रत्याशित र हृदयविदारक घटनाले मृतकका परिवार, आफन्त तथा सम्पूर्ण क्षेत्रमा गहिरो शोक छाएको छ।
