भद्रपुर । झापाको भद्रपुर नगरपालिकालाई उपमहानगरपालिका बनाउन सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ। गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमाना हेरफेर र नगरपालिका वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्ड, २०८३ अनुसार भद्रपुर नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय भेलाले उक्त निर्णय गरेको हो।

नेपालको चौथो नगरपालिकाका रूपमा २००८ सालमै घोषणा भएको भद्रपुर झापाको प्रशासनिक, व्यापारिक तथा सामाजिक गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा रहँदै आएको छ। वर्तमान भौगोलिक अवस्था, जनघनत्व तथा शहरी पूर्वाधारको विकासलाई ध्यानमा राख्दै हाल कायम भद्रपुर नगरपालिकाको भूगोललाई आधार मानी सीमाना जोडिएका भूभागसमेत समावेश गरी उपमहानगरपालिका कायम गर्न निर्णय गरिएको नगरप्रमुख गणेश पोखरेलले जानकारी दिए।

नगरप्रमुख पोखरेलको अध्यक्षतामा भएको सर्वपक्षीय भेलामा उपप्रमुख राधा कार्कीसहित पूर्व नगरप्रमुखहरू भारतेन्दु मल्लिक र पुष्पराज पोखरेल, राजनीतिक दलका प्रतिनिधिहरू रमेश झा, प्रेम न्यौपाने, असारु राजवंशी, नरदिप लिम्बू, राजकुमार राई लगायत बुद्धिजीवी, उद्योगी व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो। भेलामा सहभागीहरूले भद्रपुरलाई उपमहानगरपालिका बनाउनुपर्नेमा समान धारणा राखेका थिए।
सर्वपक्षीय भेलाले भद्रपुर नगरपालिकाको सीमाना र वडा संरचनासम्बन्धी केही विषयमा समेत सिफारिस गर्ने निर्णय गरेको छ। वडा नं. ७ को मेची नदीपारिको भूभाग नगरपालिकाको अन्य क्षेत्रसँग नजोडिएकाले त्यसलाई सीमाना जोडिएको वडा नं. ५ मा समावेश गर्न सिफारिस गरिएको छ। त्यसैगरी भद्रपुरका वडा नं. ९ र १० लाई साविककै निर्वाचन क्षेत्र नं. ३ मा कायम गर्न आवश्यक रहेको ठहर गर्दै सोही अनुसार सिफारिस गर्ने निर्णय भएको छ।
स्थानीय बासिन्दा र सम्बन्धित वडा कार्यालयको राय तथा सहमतिका आधारमा सीमाना हेरफेर आवश्यक देखिएका अन्य भूभागलाई पनि एक-अर्कामा मिलाउन सरकारसमक्ष सिफारिस गरिनेछ। भेलाअघि नगरपालिकाका अधिकृत नेत्र पोखरेलले पुनरावलोकनसम्बन्धी मापदण्ड, २०८३ बारे जानकारी गराएका थिए। उपमहानगरपालिका बनेमा पूर्वी नेपालको महत्वपूर्ण शहरी केन्द्रका रूपमा भद्रपुरको भूमिका थप विस्तार हुने अपेक्षा गरिएको छ।
