समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

जलथलमा दिनहुँ हात्तीको वितण्डा, त्रासमा स्थानीय

अभिषेक खतिवडाहल्दिबारी (झापा)

Advertisement

​झापाको हल्दिबारी गाउँपालिका–३ स्थित जलथल क्षेत्रमा जङ्गली हात्तीको आतङ्क दिनप्रतिदिन बढ्दै गएको छ। बुधबार राति करिब ९ बजे चार वटा जङ्गली हात्ती बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा रातभर त्रासमा जाग्राम बस्न बाध्य भएका छन्।

Advertisement

​बस्ती छिरेका हात्तीले सर्वसाधारणका घर, कम्पाउन्ड वाल, फलामे गेटलगायतका संरचना ढालेका छन्। साथै, खेतबारीमा लगाएको र भण्डारण गरी राखिएको अन्नबालीसमेत नष्ट गरिदिएका छन्। हात्तीले श्री पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लीराम ढुङ्गेल, शोरेन मेचे र गिरिजा महत्तोको घरमा क्षति पुर्‍याएको छ। सुनिल मेचेको घरको फलामे गेट तथा कम्पाउन्ड वाल र श्री पञ्चायत माध्यमिक विद्यालयको मुख्य फलामे गेटसमेत हात्तीले भत्काइदिएको छ।

​हल्दिबारी–३ की वडा सदस्य विष्णुमाया तिम्सिना ढुङ्गेलको घर आसपास पनि हात्तीले लामो समय वितण्डा मच्चाएको थियो। निकै बेर घरवरिपरि घुमे पनि उनको भौतिक संरचनामा भने क्षति नपुगेको स्थानीयले बताएका छन्।

​कुन बेला कुन घरमा आक्रमण गर्ने हो भन्ने डरले स्थानीय रातभर त्रसित बनेका थिए। जलथल जङ्गलसँग जोडिएको यस क्षेत्रमा पछिल्लो समय जङ्गली हात्तीको आवागमन नियमितजस्तै बनेको छ। हात्तीले अन्नबाली नष्ट गर्नुका साथै घर, गोठ र अन्य भौतिक संरचनामा क्षति पुर्‍याउने क्रम तीव्र बनेको छ।

​मानव–हात्ती द्वन्द्वका कारण यस क्षेत्रका बासिन्दाले वर्षौंदेखि धनजनको क्षतिसँगै ज्यानकै जोखिम मोल्दै आएका छन्। विशेषगरी रातिको समयमा हात्ती बस्ती पस्न थालेपछि स्थानीयको जनजीवन प्रभावित बनेको छ।

​स्थानीयले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सम्बन्धित निकायसँग तत्काल प्रभावकारी सुरक्षा र नियन्त्रणका उपाय अपनाउन माग गरेका छन्। हात्तीको दीर्घकालीन व्यवस्थापन र नियन्त्रणका लागि ठोस योजना नबनाए आगामी दिनमा अझ ठूलो मानवीय तथा भौतिक क्षति हुन सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article