हल्दिवारी, झापा । हल्दिवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले आफ्नो सेवाकालको तीन वर्ष सफलतापूर्वक पूरा गरी चौथो वर्षमा प्रवेश गरेका छन्। यस अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव र प्रतिबद्धता साझा गर्दै उनले यो अवधि केवल पदमा बिताएको समय नभई अनुभव, चुनौती, सिकाइ र उपलब्धिले भरिएको अविस्मरणीय यात्रा भएको उल्लेख गरेका छन्।

आफ्नो तीन वर्षे कार्यकालमा गाउँपालिकाको संस्थागत विकास, सेवा प्रवाहमा सुधार, सुशासन, पारदर्शिता, उत्तरदायित्व र जनमुखी प्रशासनलाई प्राथमिकतामा राखेर काम गरिएको उनले बताएका छन्। “काम देखिने, परिणाम भेटिने र नागरिकले अनुभूति गर्ने” प्रशासन निर्माणको निरन्तर प्रयास नै आफ्नो मुख्य ध्येय रहेको उनको भनाइ छ।

झापामै उत्कृष्ट: ‘असल अभ्यास’मा प्रथम स्थान
यस अवधिमा प्राप्त उपलब्धिहरूमध्ये झापा जिल्लाका स्थानीय तहहरूमध्ये हल्दिवारी गाउँपालिका ‘असल अभ्यास’ (Best Practices) कार्यक्रमअन्तर्गत प्रथम हुन सफल हुनुलाई उनले गौरवपूर्ण क्षणका रूपमा स्मरण गरेका छन्। सीमित स्रोत र साधनका बाबजुद दर्हो इच्छाशक्ति, इमानदारी, नवीन सोच र सामूहिक प्रतिबद्धता भएमा उत्कृष्ट परिणाम हासिल गर्न सकिन्छ भन्ने कुरा यो सम्मानले प्रमाणित गरेको उनले उल्लेख गरे। यो सफलता जनप्रतिनिधिको स्पष्ट दृष्टिकोण, कर्मचारीको समर्पण र नागरिकको विश्वासको साझा परिणाम भएको उनको बुझाइ छ।
सामूहिक प्रयास र आभार
तीन वर्षको यो सफल यात्रामा मार्गदर्शन गर्ने मन्त्रालयका सचिव, जनप्रतिनिधिहरू, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण हल्दिवारीवासीप्रति उनले हार्दिक आभार व्यक्त गरेका छन्। प्रशंसा गर्नेहरूबाट प्रेरणा, सुझाव दिनेहरूबाट सिकाइ र आलोचना गर्नेहरूबाट अझ राम्रो गर्ने ऊर्जा मिलेको भन्दै उनले सबैको साथ र सहकार्यलाई धन्यवाद दिएका छन्।
अझ उत्कृष्ट हल्दिवारी बनाउने संकल्प
चौथो वर्षमा प्रवेश गर्दै गर्दा विगतका उपलब्धिलाई आत्मसात् गर्दै र कमजोरीहरूबाट सिक्दै हल्दिवारीलाई अझ व्यवस्थित, सुशासित, पारदर्शी र जवाफदेही स्थानीय तहका रूपमा स्थापित गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। “तीन वर्षको उपलब्धि हाम्रो साझा पूँजी हो, चौथो वर्षको लक्ष्य अझ उत्कृष्ट हल्दिवारी हो” भन्ने संकल्पका साथ आगामी दिनमा जनसेवामा अझ दृढताका साथ लाग्ने उनले बताएका छन्।
