
झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ। प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका अनुसार भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी कुल रु २४ अर्ब २६ करोड ७४ लाख बराबरको कृषिउपज नेपाल भित्रिएको हो।

कार्यालयका प्रमुख नन्दकिशोर सिंहका अनुसार आयातीत कृषि सामग्रीमा सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको रहेको छ। भारतबाट रु २४ करोड २३ लाख १३ हजारको चामल तथा रु १८ करोड ८३ लाखको कोदो आयात भएको छ। यस्तै, अष्ट्रेलिया र भारतबाट रु १८ करोड २७ लाख ९९ हजार मूल्य बराबरको एक हजार ९९६ मेट्रिकटन चना तथा अष्ट्रेलियाबाट रु १० करोड ८८ लाख ५४ हजार बराबरको ७९६ मेट्रिकटन मासको दाल भित्रिएको तथ्याङ्क छ।
ताजा तरकारीतर्फ भारतबाट उल्लेख्य मात्रामा गोलभेडा, काँक्रा, भेडे खुर्सानी र फर्सी भित्रिएका छन्। गत एक वर्षमा रु १४ करोड ३९ लाख ६६ हजारको गोलभेडा, रु सात करोड ९० लाख ६४ हजारको काँक्रा र रु तीन करोड २४ लाख ३५ हजार बराबरको खुर्सानी आयात भएको छ।
यसैगरी फलफूलतर्फ भारत र चीनबाट स्याउ, भुइँकटर, तरबुजा र नासपाती मुख्य रूपमा भित्रिएका छन्। सो अवधिमा भारत र चीनबाट रु २९ करोड ५९ लाख ७२ हजारको स्याउ तथा भारतबाट मात्र रु १४ करोड २४ लाख ८१ हजारको तरबुजा आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालयले जनाएको छ।
