जनक न्यौपाने / इलाम । इलामका विभिन्न स्थानमा आइतबार परेको चट्याङका कारण एक जना घाइते भएका छन् भने पशुधन र विद्युत् मिटरबक्समा क्षति पुगेको छ ।

प्रहरीका अनुसार माङसेबुङ गाउँपालिका–३ खलङ्गेमा वाइफाइ जडान गर्ने क्रममा चट्याङ लाग्दा माङसेबुङ–४ सिङ्फिरेका २२ वर्षीय विक्रम लावती घाइते भएका छन् । पवन राईको घरअगाडि रहेको फलामको पोलमुनि काम गरिरहेका लावतीलाई दिउँसो १:४५ बजे चट्याङ लागेको हो ।

चट्याङ लागेर बेहोस भएका उनलाई न्यूलिंक कम्पनीका सञ्चालक योगेश राईले उपचारका लागि झापाको दमकस्थित आम्दा अस्पताल पुर्याएका थिए । अस्पतालको आकस्मिक कक्षमा उपचाररत लावतीको अवस्था मध्यम रहेको र बोलचाल गर्न सक्ने स्थितिमा रहेको प्रहरीले जनाएको छ ।
यस्तै, देउमाई नगरपालिका–९ सरदारगाउँका डिल्लीकुमार माबोहाङको घरमा जडान गरिएको विद्युत् मिटरबक्समा दिउँसो ३ बजे चट्याङ पर्दा पूर्ण रूपमा क्षति पुगेको छ । चट्याङकै कारण उनको गोठमा रहेको एउटा पाडा मरेको छ । घटनामा मिटरबक्स र पाडासहित करिब ६५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
यसैगरी, सूर्योदय नगरपालिका–१३ कोल्बोटेका मानविर नेम्बाङको गोठमा चट्याङ पर्दा बाँधिएका दुई वटा गाई मरेका छन् । घरबाट करिब ५० मिटर दक्षिणमा रहेको गोठमा हावाहुरी र वर्षासँगै चट्याङ खसेको हो । दुवै घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
लगातारको वर्षासँगै चट्याङ पर्न थालेपछि जिल्ला प्रहरी कार्यालय इलामले स्थानीयवासीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । प्रहरीले चट्याङ परेको समयमा खुला स्थान, रुखमुनि र फलामका संरचना वरपर नबस्न अनुरोध गरेको छ ।
