समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

झापामा जापानी इन्सेफलाइटिसको उच्च जोखिम: ३० वर्षभन्दा माथिका नागरिकलाई खोप दिइने

हल्दिबारी । झापामा जापानी इन्सेफलाइटिस (जेई) संक्रमण र त्यसबाट हुने मृत्युदर तीव्र रूपमा बढेपछि सरकारले खोप अभियान सञ्चालन गर्ने तयारी थालेको छ। पछिल्लो समय वयस्क नागरिकहरूसमेत यसबाट प्रभावित हुन थालेकाले पहिलो चरणमा झापाका ३० वर्षभन्दा माथिका नागरिकलाई खोप दिने निर्णय गरिएको हो। झापामा हालसम्म १० जनामा संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार झापामा जेईबाट हुने मृत्युदर ६० प्रतिशत पुगेको छ। आपत्कालीन स्थिति सम्बोधन गर्न बालबालिकाका लागि राखिएको खोप तत्काल प्रयोग गरी पछि शोधभर्ना गर्ने योजना सरकारले बनाएको छ।

Advertisement

​देशभरको अवस्था हेर्दा पछिल्लो ६ सातामा मात्रै ५९ जना संक्रमित भएका छन् भने २१ जनाको मृत्यु भएको छ। कोशी प्रदेशमा २४ संक्रमित र १० मृत्यु, मधेशमा १९ संक्रमित र ६ मृत्यु, सुदूरपश्चिममा १३ संक्रमित र २ मृत्यु, बागमतीमा १० संक्रमित र १ मृत्यु तथा लुम्बिनीमा ७ संक्रमित र २ जनाको मृत्यु भएको छ। गण्डकी र कर्णाली प्रदेशमा पनि संक्रमण फैलिएको छ। समग्रमा देशभर जेईबाट हुने मृत्युदर करिब २५ प्रतिशत रहेको छ।

Advertisement

​अनुसन्धान अनुसार संक्रमितमध्ये ८९ प्रतिशतले खोप नलगाएको र मृत्यु हुनेमा ८१ प्रतिशत ५० वर्षभन्दा माथिका नागरिक रहेका छन्। यसैलाई ध्यानमा राखेर सरकारले उच्च जोखिममा रहेका नौ जिल्लाका लागि ३५ लाख मात्रा खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको छ।

​स्वास्थ्य सेवा विभागले आगामी तीन साताभित्र खोप अभियान सुरु गर्ने तयारी गरिरहेको छ। नेपालमा सन् २००६ देखि बालबालिकाका लागि नियमित खोप कार्यक्रममा जेई समावेश गरिए पनि वयस्कहरूका लागि भने नियमित खोपको व्यवस्था थिएन। हाल नेपालमा करिब १ करोड २५ लाख मानिस जापानी इन्सेफलाइटिसको उच्च जोखिममा रहेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article