झापा ८ भाद्र । उदयपुरको बेलका नगरपालिका–५ जहडामा बस र अटो एकापसमा ठोक्किँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। सोमबार बिहान सुपाडेबाट लालबजारतर्फ जाँदै गरेको को.प्र.०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको को १ ख ३५१६ नम्बरको बस जुध्न पुगेका हुन्।

दुर्घटनामा परेर गम्भीर घाइते भएका पाँच जनामध्ये दुई जनाको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा बेलका नगरपालिका–५ मैनीकी ३४ वर्षीया मन्दिरा मगर र अटोमा सवार परिचय नखुलेकी अर्की एक महिला रहेकी छन्।

दुर्घटनामा घाइते भएका अटो चालक बेलका–५ का २८ वर्षीय इन्द्र थापा मगर, सोही ठाउँका १८ वर्षीय रोशन मगर र विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको तत्काल उद्धार गरी स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरान पठाएको थियो। हाल अटोलाई प्रहरी चौकी लालबजारको नियन्त्रणमा राखिएको छ भने बस र ३६ वर्षीय बस चालक विक्रम थापालाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
