समाचार
हल्दिबारी संवाददाता १ दिन अगाडि

कविता : जीवन बॉच्नुको अर्थमा

-देवेन्द्र किशोर ढुङगाना
कहिलेकाहीँ लाग्छ-
यो संसार, यी मानिस,
र भागदौडले
भरिएको जीवन
एउटै घेराभित्र घुमिरहेछन्।
तर जीवन केवल नियतिको लकीर होइन,
परिवर्तनको
सम्भावना पनि हो।

Advertisement

सबैजना एउटै धुनमा हिँड्नु पर्दैन,
आफ्नै सपना,
आफ्नै बाटो
र आफ्नै गन्तव्य
रोज्न सकिन्छ।
युवावस्था केवल
संघर्ष होइन,
नयाँ विचारको
उज्यालो हो,
परिश्रमबाट भविष्य निर्माण गर्ने
साहसिलो समय हो।

Advertisement

जीवन मृत्युको
प्रतीक्षा होइन,
जीवन त सिर्जनाको
यात्रा पनि हो-
जहाँ पसिनाले माटो
उर्वर बनाउँछ,
ज्ञानले अन्धकार चिर्छ,
र श्रमले
नयाँ संसार बनाउँछ।

हामीले पाएका पुराना लकीरहरू
मेट्न नसके पनि
नयाँ लकीर
कोर्न त सक्छौँ।
जहाँ समानता होस्,
जहाँ श्रमको सम्मान होस्,
जहाँ विकास
भावनामा होइन,
मानिसको
चेतनामा देखियोस्।

यदि बाटो छैन भने,
हामी आफैँ बाटो बनाऔँ।
यदि उज्यालो छैन भने,
हामी आफैँ दीप बनौँ।
किनकि परिवर्तन पर्खेर आउँदैन-
परिवर्तन त
हाम्रो सोच, श्रम र साहसबाट जन्मिन्छ।

जीवन युवा हो,
जीवन संघर्ष हो,
जीवन निर्माण हो-
र जीवन,
भविष्य लेख्ने
अवसर पनि हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article