समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

रसुवामा बाढीको वितण्डा: सेना र हेलिकप्टर परिचालन, प्रधानमन्त्री शाहद्वारा उच्चस्तरीय बैठक आह्वान

झापा । रसुवामा भीषण बाढी आएपछि सरकारले व्यापक रूपमा उद्धार तथा राहत कार्य अघि बढाएको छ। बाढीका कारण तटीय क्षेत्रमा क्षति पुग्ने सम्भावना बढेपछि गृह प्रशासन र सुरक्षा निकायलाई पूर्ण रूपमा ‘हाई अलर्ट’ मा राखिएको छ।

​प्रधानमन्त्री बाल शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत रसुवाको बाढी र त्यसपछिको उद्धार तयारीबारे नागरिकलाई जानकारी गराएका छन्। सरकारका तर्फबाट भए-गरेका प्रयास र भावी कदमबारे स्पष्ट पार्दै प्रधानमन्त्री शाहले नागरिकहरूलाई धैर्य र सजग रहन अपिल गरेका छन्।

​उद्धारमा तीनै सुरक्षा निकाय, अन्य जिल्लाबाट पनि फौज परिचालन

बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राखिएको छ। घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल (APF) र नेपाल प्रहरीको टोली परिचालन भइसकेका छन्। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन छिमेकी जिल्लाहरूबाट समेत अतिरिक्त जनशक्ति र उद्धार टोली प्रभावित क्षेत्रतर्फ मुभ गराइएको छ।

​हेलिकप्टर प्रभावित क्षेत्रमा, निजी कम्पनीलाई ‘स्ट्यान्डबाइ’ बस्न निर्देशन

विपत्‌मा परेका नागरिकको तत्काल उद्धारका लागि सम्भावित सबै हवाई साधन प्रयोगमा ल्याइएको छ। सरकारी हेलिकप्टरहरूलाई उद्धार र राहत सामग्रीसहित प्रभावित क्षेत्रतर्फ पठाइसकिएको छ। यस्तै, आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै निजी हेलिकप्टर कम्पनीहरूलाई पनि आफ्ना उडानहरू तयारी अवस्था (Standby) मा राख्न निर्देशन दिइएको छ।

​स्वास्थ्य टोली, स्काउट र रेडक्रस सक्रिय

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) लाई पूर्ण रूपमा सक्रिय बनाइएको छ। मेडिकल टिम, नेपाल स्काउट र नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरी घाइतेको उपचार र राहत वितरणको काम सुरु भइसकेको छ। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र मेडिकल जनशक्ति पठाउने प्रक्रियासमेत अघि बढाइएको छ।

​तटीय क्षेत्रका बासिन्दालाई स्थानान्तरण र अलर्ट सन्देश

बाढीको जोखिम बढेसँगै नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) हरूलाई निर्देशन दिइएको छ। नागरिकलाई जोखिमबाट बचाउन मोबाइलमा SMS र कलमार्फत निरन्तर अलर्ट गराउने काम भइरहेको छ।

​उच्चस्तरीय बैठक डाकियो

स्थिति मूल्याङ्कन गरी आगामी रणनीति तय गर्न सरकारले उच्चस्तरीय बैठक बोलाएको छ। अबको केही बेरमा बस्ने उक्त बैठकले राहत, उद्धार र क्षतिपूर्तिबारे थप महत्त्वपूर्ण निर्णयहरू लिने बताइएको छ।

​आफन्तको अद्यावधिकका लागि हटलाइन नम्बर

प्रधानमन्त्री शाहले सबै नागरिकलाई सुरक्षित स्थानमा बस्न र आफ्ना आफन्तहरूसँग सम्पर्क नभएमा आत्तिनुको सट्टा सरकारी निकायको आधिकारिक ‘रेस्क्यु अपडेट’ पर्खन अनुरोध गरेका छन्।

​थप जानकारी, उद्धार तथा राहतसम्बन्धी सोधपुछका लागि सरकारले निम्न नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरेको छ:

  • ​१२३४
  • ​१०० (नेपाल प्रहरी)
  • ​११११ (हेलो सरकार)

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)