समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

रसुवा-भोटेकोशी बाढी: ७० जनाको शव फेला, सयौँ सम्पर्कविहीन, ६ जिल्ला संकटग्रस्त घोषित

झापा । रसुवा र भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ। हालसम्म ७० जनाको शव फेला परेको छ भने फेला परेका शवहरूको सनाखत गर्ने कार्य जारी छ। बाढीका कारण सुरक्षाकर्मी, जलविद्युत् आयोजनाका कर्मचारी र पर्यटकसहित सयौँ मानिस सम्पर्कविहीन बनेका छन्। बेपत्ता तथा सम्पर्कविहीन हुनेहरूमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २६ र सशस्त्र प्रहरीका ९ गरी ७९ जना सुरक्षाकर्मी, लाङटाङ खोला जलविद्युत् आयोजनाका ६० जना र नेपाल विद्युत् प्राधिकरणका ३५ जना कर्मचारी रहेका छन्। नेपाल पर्यटन बोर्डका अनुसार २९१ विदेशी र ९३ नेपालीसहित ३८४ पर्यटक तथा यात्रुहरूसँग सम्पर्क हुन बाँकी छ, यद्यपि उनीहरू बाढीमै परेको पुष्टि भइनसकेकाले विवरण प्रमाणीकरण भइरहेको छ।

Advertisement

​बाढीले सडक, पुल, विद्युत् र दूरसञ्चार क्षेत्रमा व्यापक क्षति पुर्‍याउँदा जनजीवन प्रभावित भएको छ। ११ वटा जलविद्युत् आयोजनामा क्षति पुग्दा ४३१ मेगावाट बिजुली राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ। रसुवादेखि मलखुसम्म धादिङबेँसी जोड्ने पुलसहित २० भन्दा बढी झोलुङ्गे तथा मोटरेबल पुल बगाएको छ भने १९ पुल र ४० किलोमिटर सडक क्षतिग्रस्त भई यातायात पूर्ण रूपमा ठप्प छ। टिमुरे, स्याफ्रुबेँसी र नुवाकोट क्षेत्रमा २५ भन्दा बढी NTC र Ncell का टावर, अप्टिकल फाइबर तथा चीन जोड्ने फाइबर लाइन काटिएका छन्। आधा दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाका कार्यालयहरू बगेका छन्। नुवाकोटको खम्पाक्याम्पस्थित केन्द्रीय कारागारको प्रशासनिक भवन र पर्खालमा क्षति पुगे पनि त्यहाँका ८०० कैदीबन्दी सुरक्षित रहेका छन्।

Advertisement

​भोटेकोशी र त्रिशूली तटीय क्षेत्रमा अझै बाढीको जोखिम टरेको छैन। उत्तरी छिमेकी चीनतर्फ लेन्दे खोला थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेकाले थप बाढीको जोखिम कायमै रहेको छ। रसुवा, धादिङ र नुवाकोटका ६ स्थानमा रहेका बाढी पूर्वसूचना प्रणाली समेत बाढीले नष्ट पारेको छ।

​स्थितिको गम्भीरतालाई ध्यानमा राख्दै सरकारले प्रभावित ६ जिल्लालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ र खोज तथा उद्धारका लागि बिनाअनुमति ड्रोन प्रयोग गर्न पाइने व्यवस्था मिलाएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ भने संसद्‌मा जानकारी दिँदै परराष्ट्रमन्त्रीले खोज, उद्धार, राहत र स्वास्थ्य व्यवस्थापनका लागि सम्पूर्ण सरकारी संयन्त्रहरूलाई उच्च प्राथमिकताका साथ परिचालन गरिएको जनाएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article