समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

बुद्धशान्तिका नागरिकलाई चारआलीमा निःशुल्क सर्पदंश उपचार सेवा, पालिकाले छुट्यायो ५ लाख रुपैयाँ

झापा । बुद्धशान्ति गाउँपालिकाका नागरिकले अब झापाको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा निःशुल्क उपचार पाउने भएका छन्।

Advertisement

​गाउँपालिका र चारआली सर्पदंश उपचार केन्द्रबीच बुधबार (भदौ १०) भएको सम्झौताअनुसार पालिकाभित्रका बासिन्दाले सर्पदंशको सम्पूर्ण प्रारम्भिक उपचार खर्च छुट पाउने भएका हुन्।

Advertisement

​सर्पदंशजस्तो आकस्मिक अवस्थामा आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो सम्झौता गरिएको गाउँपालिका सचिवालयले जनाएको छ। कार्यक्रम सञ्चालनका लागि पालिकाले चालू आर्थिक वर्षमा ५ लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको छ।

​सम्झौताअनुसार बुद्धशान्तिमा स्थायी रूपमा बसोबास गर्दै आएका नागरिकले आफ्नो नागरिकता वा परिचयपत्रका आधारमा सोझै निःशुल्क उपचार पाउनेछन्। अस्थायी रूपमा बसोबास गर्दै आएका नागरिकको हकमा भने सम्बन्धित वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ।

​सर्पदंशको मुख्य उपचार खर्च गाउँपालिकाले व्यहोर्ने भए पनि बिरामीको अवस्था जटिल भई भेन्टिलेटर वा आईसीयू (ICU) मा राखेर थप उपचारका लागि अन्य अस्पताल लैजानुपरेमा भने सो खर्च बिरामी स्वयंले नै व्यहोर्नुपर्ने सम्झौतामा उल्लेख छ।

​बुद्धशान्ति गाउँपालिकाले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य क्षेत्रमा यसअघि पनि विभिन्न सहुलियत कार्यक्रम सञ्चालन गर्दै आएको छ। पालिकाले यसअघि नै निःशुल्क रक्तसञ्चार र शव वाहन सेवा सञ्चालनमा ल्याइसकेको छ भने गर्भवती महिलाका लागि अस्पताल आउन-जान एकतर्फी एम्बुलेन्स भाडा उपलब्ध गराउँदै आएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article