झापा ।मेचीनगर–१५ ग्वालबस्तीस्थित श्री मेची आधारभूत विद्यालयलाई मेचीनगर लेडि जेसिजले तीन थान सिलिङ फ्यान हस्तान्तरण गरेको छ। कक्षा २ सम्म संचालित उक्त विद्यालयमा अध्ययनरत बालबालिकालाई गर्मीयाममा पठनपाठनलाई सहज बनाउने उद्देश्यले मेचिनगर लेडि जेसिजले सो सहयोग प्रदान गरेको हो।

टिनको छानामुनि सञ्चालित विद्यालयका कक्षाकोठामा गर्मीयाममा अत्यधिक तापक्रमका कारण पठनपाठन प्रभावित हुदै आएको व्यहोरा विद्यालय मार्फत जानकारी भएपस्चात सो समस्यालाइ मध्यनजर गर्दै फ्यान सहयोग गरिएको मेचिनगर लेडि जेसिजकि अध्यक्ष रिता श्रेष्ठ प्रधानले बताउनुभयो।

विद्यालयमा नै कार्यक्रम आयोजना गरी सामग्री हस्तान्तरण गर्ने तयारी भएता पनि वर्षाका कारण मेची नदीमा पानीको सतह बढेकाले साथै विद्यालयसम्म सहज रूपमा पुग्न पुल को अभाव भएका कारण सो कार्यक्रम मेची नदी किनारमा रहेको पाहान गाउँमा आयोजना गरिएको थियो।
वि.सं. २०५७ सालमा स्थापना भएको श्री मेची आधारभूत विद्यालय मेचीनगर–१५ स्थित ग्वालबस्तीमा अवस्थित छ। विद्यालय रहेको भूभाग मेची नदीपारि पर्दछ। यस क्षेत्रमा ग्वालबस्ती, शिशुडाँगी र झाडुबस्ती गरी तीनवटा बस्ती रहेका छन् जहाँ ग्वाल (यादव ), सन्थाल एवम राजवङशी समुदायको मिश्रीत बसोबास रहेको छ। न्यून जन्मदर, अत्यन्तै न्यून जनसंख्या वृद्धिदर, शून्य बसाइँसराइ, राज्यका स्रोत तथा सेवामा असहज पहुँच, भौगोलिक विकटता तथा विद्यालयको तहगत संरचनाका कारण हाल विद्यालयमा नौ जना विद्यार्थी मात्र अध्ययनरत रहेको प्रधानाध्यापक लोकेन्द्र थपलियाले जानकारी दिए।

उनका अनुसार मेची नदीमा पुलको अभाव यस क्षेत्रको शैक्षिक, सामाजिक तथा समग्र विकासमा प्रमुख बाधकका रूपमा रहेको छ। ‘मेची नदीमा पुल नहुँदा विद्यालयसम्मको सहज पहुँचमा मात्र समस्या भएको छैन, यस क्षेत्रको समग्र विकास नै प्रभावित भइरहेको छ,’ उनले बताए।
वर्षायाममा मेची नदीमा पानीको बहाव बढ्दा विद्यालयमा कार्यरत शिक्षकहरू भारतको गलगलिया वा पानीट्याङ्की हुँदै विद्यालय पुग्नुपर्ने अवस्था रहेको प्रधानाध्यापक थपलियाले बताए। उनका अनुसार यस्तो अवस्थामा शिक्षकहरूले दैनिक करिब ५० किलोमिटरको कठिन तथा घुमाउरो यात्रा गर्नुपर्ने हुन्छ।
कार्यक्रममा उपस्थित अतिथिहरुद्वारा मेचीपारिको क्षेत्रको भौगोलिक अवस्थाका कारण नागरिकले भोग्दै आएको कठिनाइप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको थियो। उनीहरूले शिक्षा राज्यको संविधानप्रदत्त मौलिक अधिकार भएकाले भौगोलिक अवस्थाका कारण बालबालिकाको शिक्षामा सहज पहुँच प्रभावित हुन नहुने धारणा व्यक्त गरे। साथै, मेची नदीमा पुल निर्माण गरी यस क्षेत्रलाई राज्यका मूलधारका सेवा तथा अवसरसँग सहज रूपमा जोड्नुपर्नेमा जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका–१५ का वडाध्यक्ष गुणराज भट्टराईले स्थानीयस्तरका विकासका आवश्यकता र मेची नदीमा पुलको अपरिहार्यताबारे धारणा राखे। पत्रकार ज्ञानेन्द्र निरौलाले समेत विद्यालय तथा स्थानीय समुदायले भोग्दै आएको भौगोलिक कठिनाइबारे चर्चा गर्दै यस क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा सरोकारवाला निकायको ध्यान जानुपर्ने बताए।
प्रधानाध्यापक थपलियाले विद्यालयका लागि फ्यान उपलब्ध गराएकोमा मेचीनगर लेडि जेसिजप्रति आभार व्यक्त गरे। उनले प्राप्त सहयोगले विशेषगरी गर्मीयाममा बालबालिकालाई कक्षाकोठामा सहज वातावरणमा अध्ययन गर्न सहयोग पुग्ने बताए। साथै शिक्षाको विकासमा त्रिकोणात्मक सम्बन्धलाइ औल्याउदै न्यून साक्षरता रहेको सो क्षेत्रमा अभिभावक एवम समुदाय सशक्तीकरणको समेत आवस्यकतालाइ सम्बोधन गर्नुपर्नेमा प्र अ थपलियाले जोड दिए।
सोही अवसरमा पाहान समुदायको उत्थान तथा सांस्कृतिक संरक्षणका लागि आवश्यक सांस्कृतिक सामग्रीमा एक थान ढोल, तिन थान झ्याम्टा , चार थान झ्याली समेत सन्स्थाद्वारा हस्तान्तरण गरिएको थियो। विद्यालयलाई फ्यान हस्तान्तरण र पाहान समुदायलाई सांस्कृतिक सामग्री हस्तान्तरण कार्यक्रम संयुक्त रूपमा आयोजना गरिएको हो।
मेचीनगर लेडि जेसिजकी वर्ष २०२६ की अध्यक्ष जेसि रिता श्रेष्ठ को अध्यक्षतामा तथा संस्थाकि कोषाध्यक्ष जेसि सरिता अधिकारिको संयोजकत्वमा सम्पन्न कार्यक्रममा मेचिनगर वडा न -१५ का वडाअध्यक्ष गुणाराज भट्टराई , श्री मेची आधारभुत विद्यालयका प्र अ लोकेन्द्र थपलिया , शिक्षक रमादेवी ढकाल, पत्रकार ग्यानेन्द्र निरौला, पाहान उत्थान समुदायका अध्यक्ष कुमुद पाहान, जेसिजकी पूर्वअध्यक्ष जेसि उषा श्रेष्ठ, सदस्य जेसि रेजिना तामाङ, लगायत अन्य समुदायवासीको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन मेचीनगर लेडि जेसिजकी शिक्षा संयोजक जेसि रेजिना श्रेष्ठले गरेकी थिइन्।
कार्यक्रमकि अध्यक्ष एवम मेचिनगर लेडि जेसिज अध्यक्ष रिता श्रेष्ठ प्रधानले भौगोलिक एवम सामाजिक रुपमा पिछ्डिएको मेची पारिको नेपालमा रहेको विद्यालयजस्तो पवित्र स्थल मा सहयोग प्रदान गर्ने अवसर सन्स्थाले प्राप्त गरेकोमा आफू गौरवान्वित बनेको बताउभयो।साथै सो क्षेत्रमा शैक्षिक एवम सामाजिक विकासका निमित्त आगामी दिनहरुमा थप रचनात्मक रुपमा सन्स्थाको उपस्थिती रहने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालय स्थापना भएको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि मेची नदीमा सहज आवतजावतका लागि पुल निर्माण हुन नसकेको अवस्थाले यस क्षेत्रको भौगोलिक चुनौतीलाई स्पष्ट पार्छ। मेची पारिको नेपालमा शिक्षाको अधिकार सुनिस्चित गर्न एवम राज्यको सहज पहुँच सुनिश्चित गर्न मेची नदीमा पुल निर्माणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता कार्यक्रममार्फत पुनः उजागर भएको छ।
