झापा । चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी नदी हुँदै नेपाल प्रवेश गरेपछि रसुवा क्षेत्रमा कार्यरत तथा भ्रमणमा रहेका झापाका कम्तीमा १६ जना नागरिक सम्पर्कविहीन भएका छन्। भदौ १० गते आएको बाढीपछि उनीहरूसँग परिवारको सम्पर्क विच्छेद भएको हो।

जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार बिर्तामोड–१० का राजेश आचार्य, बिर्तामोड–२ का बुद्धिसागर न्यौपाने र खिनमाया न्यौपाने, कनकाई–३ का घनश्याम भट्टराई, मेचीनगर–६ काँकडभिट्टाका दीपक खरेल तथा बुद्धशान्ति–२ का राजकुमार दियाली, उनकी पत्नी सृष्टि दियाली र ३ वर्षका छोरा राजन दियाली सम्पर्कविहीन छन्। यस्तै मेचीनगर–१० का विधान लुइँटेल र उनका साथी निश्चल पाण्डे पनि बाढीपछि सम्पर्कमा आएका छैनन्।

यसैगरी, सामाजिक सञ्जालमार्फत परिवारजनले दिएको जानकारीअनुसार शिवसताक्षी–२ का भक्तबहादुर राई (सबीन), झापा गाउँपालिकाका प्रेम सेढाईं, बुद्धशान्ति गाउँपालिकाका भीष्म चापागाईं र गौरीगञ्ज गाउँपालिकाका अन्य दुई जना पनि रसुवा क्षेत्रबाटै हराइरहेका छन्। गौरीगञ्जका दुई जनाको नाम भने खुल्न बाँकी छ।
बाढीपछि आफन्तसँग कुनै माध्यमबाट सम्पर्क हुन नसकेपछि परिवारजनले खोजी तथा उद्धारका लागि सम्बन्धित निकाय र सर्वसाधारणसँग आग्रह गरेका छन्।
प्रशासनका अनुसार विभिन्न स्थानीय तहबाट विवरण सङ्कलन भइरहेकाले सम्पर्कविहीन हुनेको संख्या अझै बढ्न सक्ने अनुमान छ। हालसम्म प्राप्त विवरणहरू सरकारी तहबाट औपचारिक पुष्टि हुने क्रममा रहेकाले वास्तविक तथ्यांक थपघट हुन सक्ने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ। तस्बिर एआईबाट निर्मित सांकेतिक
