
काठमाडौँ ।देशका विभिन्न भागमा हालै आएको विनाशकारी बाढी र पहिरोपछि प्रभावित क्षेत्रहरूमा नेपाल रेडक्रस सोसाइटीले खोजी, उद्धार तथा राहत सामग्री वितरणलाई तीव्र बनाएको छ।

विशेष गरी नुवाकोट, धादिङ र रसुवा लगायतका जिल्लाहरूमा बाढीपहिरोले ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुर्याएपछि रेडक्रसले सरकारी निकायहरूसँगको समन्वयमा राहत तथा उद्धार कार्य अघि बढाएको हो।
बाढीका कारण घर, खेतीपाती, पशुचौपाया तथा व्यापार-व्यवसाय बग्दा ठूलो सङ्ख्यामा मानिसहरू विस्थापित भएका छन्। धेरै व्यक्ति अझै बेपत्ता रहेकाले प्रभावितहरू आफ्ना आफन्तको खोजीमा भौँतारिनुपर्ने बाध्यता छ।
नेपाल रेडक्रस सोसाइटीका अनुसार विपद्को पूर्ण विवरण आउन अझै समय लाग्ने भएकाले हाल द्रुत मूल्याङ्कन (र्यापिड असेसमेन्ट) मा ध्यान केन्द्रित गरिएको छ।
रेडक्रसका महामन्त्री ऋषिरमण खनालका अनुसार बाढीले बगाएका शवहरू भारतको सीमाक्षेत्रसम्म पुगेका छन्। रेडक्रसले रेडक्रसको अन्तर्राष्ट्रिय समिति (ICRC), नेपाल सरकार, नेपाली सेना र नेपाल प्रहरीसँगको समन्वयमा शव व्यवस्थापनको कार्य गरिरहेको जनाएको छ।
”अहिले सबैभन्दा ठूलो पीडा भनेको मानिसहरूले आफ्ना परिवारका सदस्यहरू गुमाएका छन्। उनीहरूको खोजी र शव व्यवस्थापनमै धेरै समय बिताउनुपरेको अवस्था छ,” महामन्त्री खनालले भने।
विस्थापित परिवारहरूका लागि नदी किनारका बस्तीहरूमा रेडक्रसले ‘रेडी टु इट’ (तयारी खाना) र बिहान-बेलुकाको भोजनको व्यवस्था गरिरहेको छ। साथै, अस्थायी आश्रय (सेल्टर), खानेपानी, सरसफाइ र गैर-खाद्य सामग्रीहरू समेत वितरण भइरहेको छ।
खानेपानीका मुहान तथा सरसफाइका संरचनाहरू नष्ट भएकाले प्रभावित क्षेत्रमा स्वच्छ पिउने पानी र सरसफाइको अभाव गम्भीर बन्दै गएको छ।
विशेष गरी अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला, गर्भवती तथा दुई वर्षमुनिका बालबालिकाका आमाहरूका लागि सुरक्षित आश्रयसँगै ‘डिग्निटी’ र ‘हाइजिन किट’ वितरण भइरहेको रेडक्रसले जनाएको छ।
रसुवा लगायतका कतिपय दुर्गम क्षेत्रमा सडक तथा पैदलमार्ग अवरुद्ध भएकाले स्थलगत रूपमा राहत सामग्री पुर्याउन कठिन भएको छ।
रेडक्रसका भोटेकोशी बाढी अपरेसन प्रमुख रुद्र अधिकारीका अनुसार राहत सामग्रीको माग धेरै रहेकाले नेपाल सरकार र निजी हवाई कम्पनीहरूसँग समन्वय गरी हेलिकोप्टरमार्फत ढुवानी गर्ने तयारी भइरहेको छ।
उद्धार र राहत कार्यका लागि रेडक्रसले केन्द्रीय तहबाट २५० जना र स्थानीय शाखा/उपशाखाहरूबाट करिब २ देखि ३ हजार स्वयंसेवकहरू प्रभावित जिल्लाहरूमा परिचालन गरेको छ।
विपद्का कारण मानिसहरूले आफ्नो सर्वस्व गुमाएकाले उनीहरूको दीर्घकालीन पुनःस्थापना चुनौतीपूर्ण हुने देखिएको छ।
तत्कालका लागि गाँस, बास र कपासको प्रबन्ध गरिए पनि पछि जीविकोपार्जन पुनःस्थापना, पुनर्वास र पुनर्निर्माणलाई प्राथमिकता दिइने बताइएको छ। यसका लागि अन्तर्राष्ट्रिय रेडक्रस (IFRC र ICRC), राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरू र तीनै तहका सरकारहरूसँग निरन्तर समन्वय भइरहेको छ।
