हल्दीबारी । हल्दीबारी प्याब्सनको आयोजनामा विभिन्न विधाका अन्तरविद्यालय प्रतियोगितात्मक कार्यक्रम शनिबार हल्दीबारी गाउँपालिका-१ स्थित संस्कारा शिक्षा सदनको प्राङ्गणमा सम्पन्न भएको छ।
हल्दीबारी गाउँपालिकाभित्र सञ्चालित सातवटा निजी तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको सो प्रतियोगितामा हाजिरीजवाफ, आकस्मिक वक्तृत्वकला, आकस्मिक कविता लेखन तथा वाचन एवं अंग्रेजी र नेपाली श्रुतिलेखन विधामा प्रतिस्पर्धा गराइएको थियो।
प्रतियोगिताको नतिजा अनुसार कक्षा ५ सम्मको जुनियर हाजिरीजवाफमा श्री गोलधाप सनसाइन अंग्रेजी स्कुलका प्रदीप तिवारी र ऋषभ संग्रौला प्रथम, संस्कारा शिक्षा सदनका सौरभ फुयल र सद्भाव चौहान द्वितीय तथा जशोदा इङ्लिस बोर्डिङ स्कुलका आकांक्षा राई र विशाल राजवंशी तृतीय भए।
त्यसैगरी कक्षा ८ सम्मको हाजिरीजवाफतर्फ श्री गोलधाप सनसाइन अंग्रेजी स्कुलका प्रवीण किस्कु र भूमिका दाहाल प्रथम, चिल्ड्रेन्स गार्डेन एकेडेमीका दिप्सन खतिवडा र सदिक्षा राई द्वितीय तथा कृष्ण सागर अंग्रेजी स्कुलका युवराज सुवेदी र रिदम घिमिरे तृतीय स्थान हासिल गर्न सफल भए।
अंग्रेजी आकस्मिक वक्तृत्वकलामा जशोदा अंग्रेजी विद्यालयकी श्रियासा श्रेष्ठ प्रथम, गोलधाप सनसाइनका सौगात रेग्मी द्वितीय र क्यानरी एकेडेमीका युडेन खतिवडा तृतीय भए। नेपाली आकस्मिक वक्तृत्वकलातर्फ श्री गोलधाप सनसाइनकी दिया पौडेल प्रथम, क्यानरी एकेडेमीकी अलिसा बराल द्वितीय र चिल्ड्रेन्स गार्डेनकी समीक्षा न्यौपाने तृतीय भइन्।
आकस्मिक कविता लेखन तथा वाचनको छात्र विधामा संस्कारा शिक्षा सदनका रोहन पकुवाल (वसन्त) प्रथम, क्यानरी एकेडेमीका प्रेमप्रकाश दङ्गाल द्वितीय र न्यु स्टार अंग्रेजी स्कुलका दिपेश दंगाल तृतीय भए। छात्रातर्फ जशोदा अंग्रेजी स्कुलकी रिया ढकाल प्रथम, संस्कारा शिक्षा सदनकी सम्भवी चौहान द्वितीय तथा कृष्ण सागर अंग्रेजी स्कुलकी रोशीका न्यौपाने तृतीय बने।
कक्षा ५ सम्मको अंग्रेजी श्रुतिलेखनमा जशोदा इङ्लिस स्कुलका साइमन तामाङ र चिल्ड्रेन्स गार्डेन एकेडेमीका आयन कार्की संयुक्त रूपमा प्रथम, न्यु स्टारका सुगम दङ्गाल द्वितीय र क्यानरी एकेडेमीकी विनिशा न्यौपाने तृतीय भए। नेपाली श्रुतिलेखनमा जशोदा इङ्लिस स्कुलकी रोशनी राजवंशी प्रथम, कृष्ण सागर इङ्लिस स्कुलका प्रनिष भट्टराई द्वितीय र श्री गोलधाप सनसाइनकी शिक्षा संग्रौला तृतीय भइन्।
कक्षा ८ सम्मको अंग्रेजी श्रुतिलेखनतर्फ कृष्ण सागर अंग्रेजी विद्यालयका सिनेस मेचे प्रथम, चिल्ड्रेन्स गार्डेन एकेडेमीकी प्रनिषा गुरुङ द्वितीय र गोलधाप सनसाइनका दर्शन दंगाल तृतीय भए। नेपाली श्रुतिलेखनमा कृष्ण सागरकी कृष्मा बिमली प्रथम, गोलधाप सनसाइनका दिव्यांसु नेपाल द्वितीय तथा क्यानरी एकेडेमीकी जानुका थापा र जशोदा अंग्रेजी विद्यालयकी करुणा राजवंशी संयुक्त रूपमा तृतीय भए।
प्याब्सन हल्दीबारीका अध्यक्ष याम दङ्गालको सभापतित्व तथा देवीबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नितेश खरेल, देवीबहादुर थापा, याम दंगाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
प्रतियोगितामा अंग्रेजी आकस्मिक वक्तृत्वकलातर्फ कमल पोखरेल र गीता भट्टराई तथा नेपाली आकस्मिक कविता र वक्तृत्वकलातर्फ इच्छाराम निरौला र मीना शर्माले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो।
विजेता विद्यार्थीहरूलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको सो कार्यक्रमको सञ्चालन शान्ता उप्रेती र विष्णु दंगालले गर्नुभएको थियो।
