समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

पहिलो पाइला नेपाल कमल अध्यक्षमा सञ्जु निरौला

अभिषेख खतिवडा । झापाको कमल गाउँपालिका–५, पाडाजुँगीस्थित वनमारा क्याफेमा पहिलो पाइला नेपाल, कमल शाखाको कार्यसमिति गठन तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

सामाजिक सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले आयोजित कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई प्रमुख अतिथि तथा उपाध्यक्ष प्रमिला तिवारी विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रम नवगठित शाखाका अध्यक्ष सञ्जु निरौलाको अध्यक्षतामा सम्पन्न भएको हो।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले पहिलो पाइला नेपालले सामाजिक क्षेत्रमा गर्दै आएको योगदान प्रशंसनीय रहेको बताउँदै कमल शाखाको गठनसँगै स्थानीयस्तरमा सामाजिक अभियान थप प्रभावकारी र सशक्त बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सामाजिक संघसंस्थासँग सहकार्य गर्दै अघि बढ्न स्थानीय सरकार सधैँ तयार रहेको बताउनुभयो।
त्यस्तै, शाखा अध्यक्ष सञ्जु निरौलाले पहिलो पाइला नेपाल औपचारिकता वा प्रचारका लागि मात्र स्थापना भएको संस्था नभई समाजमा रहेका विकृति, विसंगति र बेथितिविरुद्ध आवाज उठाउँदै सकारात्मक परिवर्तनका लागि निरन्तर क्रियाशील रहने संस्था भएको बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, वातावरण तथा मानवीय सेवाका क्षेत्रमा प्रभावकारी र परिणाममुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, पहिलो पाइला नेपालका केन्द्रीय महासचिव मिलन लुइँटेल, सचिव दिवस खतिवडा, लायन्स क्लब कमलका प्रमुख भुवन निधि, वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारी, पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौला लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

निर्वाचन संयोजक खेम सापकोटाका अनुसार सञ्जु निरौलाको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा कुमार पराजुली तथा सचिवमा दिपेन्द्र खतिवडा चयन हुनुभएको छ।

कार्यक्रमकै अवसरमा नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको पदस्थापना गरिएको थियो। साथै, विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएका व्यक्तित्वहरूलाई मायाको चिनोसहित सम्मानसमेत गरिएको थियो।

पहिलो पाइला नेपाल, कमल शाखाको गठनसँगै स्थानीय समुदायमा सामाजिक सेवा, सहयोग तथा सकारात्मक परिवर्तनका अभियानले थप गति लिने अपेक्षा गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article