झापा । नेपाल सरकारकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले रसुवामा आएको विनाशकारी बाढीपछि नेपाल रेडक्रस सोसाइटीले गरेको तत्काल प्रतिकार्य तथा उद्धार कार्यको प्रशंसा गर्नुभएको छ।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित भेटघाट तथा अवलोकन भ्रमणका क्रममा बोल्दै मन्त्री बादीले बाढी प्रभावित क्षेत्रमा संस्थाले आफ्ना कर्मचारी तथा स्वयंसेवक परिचालन गरी पुर्याएको योगदानप्रति धन्यवाद व्यक्त गर्नुभयो। प्रभावितहरूका लागि थप सहयोग उपलब्ध गराउन सरकार रेडक्रससँग सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो।


सोही छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सरकारले महिला, बालबालिका, ज्येष्ठ नागरिक र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। उहाँले रेडक्रसलाई मनोसामाजिक परामर्श र पारिवारिक पुनःस्थापनाजस्ता सेवालाई थप प्राथमिकता दिन आग्रह गर्नुभयो।
मन्त्री र सचिवलगायतको टोलीलाई स्वागत गर्दै रेडक्रसका अध्यक्ष डा. विशालकुमार भण्डारीले रसुवाको बाढी प्रभावित क्षेत्रमा स्वयम्ले प्रत्यक्ष देखेको र अनुभव गरेको आधारमा रेडक्रसले तत्काल गरेको प्रतिकार्यबारे जानकारी गराउनुभयो। सरकारले तोकेको क्लस्टरअनुसार नै महिला, बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर सेवा पुर्याइरहेको उल्लेख गर्दै उहाँले विपद्को यो घडीमा अहोरात्र खटिने स्वयंसेवक तथा कर्मचारीहरूको उच्च सम्मान गर्नुभयो।

कार्यक्रमको सहजीकरण गर्दै रेडक्रसका महामन्त्री ऋषिरमण खनालले नेपाल सरकारको सहयोगी संस्थाका रूपमा रेडक्रसले मानवीय सेवा दिँदै आएको र यो विपद्मा पनि सरकार, आइएफआरसी, आइसीआरसी, साझेदार राष्ट्रिय सोसाइटी र अन्य सरोकारवाला निकायहरूसँग मिलेर काम भइरहेको बताउनुभयो।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) का नेपाल प्रमुख डेभिड फिसरले बाढी प्रतिकार्यमा राहत तथा उद्धारका लागि सरकार र रेडक्रसले गरिरहेको कामको सराहना गर्नुभयो। चाइना रेडक्रस सोसाइटी सहयोगका लागि तयार रहेको र अन्य अन्तर्राष्ट्रिय सहयोग पनि प्राप्त भइरहेको जानकारी दिँदै उहाँले बाढी प्रतिकार्यका लागि थप सहयोग रकम जुटाउन आइएफआरसीले विश्व समुदायसँग अपिल गरिरहेको बताउनुभयो।

नेपाल रेडक्रस सोसाइटीले बाढी प्रभावित क्षेत्रमा हालसम्म दुई हजार थान त्रिपाल, एक-एक हजार थान कम्बल र म्याट्रेस, छ सय थान डोरी, पाँच हजार किट मर्यादित स्वच्छता सामग्री, १७९० थान शव व्यवस्थापन झोला, ५५ वटा प्राथमिक उपचार बाकस, ५० वटा स्ट्रेचर, १५ वटा टेन्ट र ५० थान आपत्कालीन शौचालय उपलव्ध गराइसकेको छ। साथै, पाँच हजार भन्दा बढी स्वयंसेवक परिचालन गरी खोज तथा उद्धार, शव व्यवस्थापन, अस्थायी बासस्थान र खाना वितरणलगायतका कार्य निरन्तर भइरहेका छन्।
