झापा । नेपालमा विपद्बाट प्रभावित नागरिकका लागि स्वदेश तथा विदेशबाट आर्थिक र मानवीय सहयोग जुट्ने क्रम तीव्र बनेको छ। सरकारले राहत तथा पुनःस्थापनाका लागि प्राप्त सहयोगलाई व्यवस्थित रूपमा परिचालन गर्ने जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आइतबार मध्यान्हसम्म प्रधानमन्त्री राहत कोषका नौवटा वाणिज्य बैंक खातामा ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको छ। यस्तै, हिमालयन बैंक र लक्ष्मी बैंकका खातामा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको जनाइएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले संकलित रकमलाई विपद् प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा आवश्यक सहयोगमा प्रभावकारी रूपमा परिचालन गर्ने विषयमा छलफल भइरहेको बताएका छन्।
२६ स्थानमा आश्रय तथा राहत केन्द्र सञ्चालन
सरकारले रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा अस्थायी आश्रय तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याएको छ। सरकारी विवरणअनुसार आइतबार मात्रै ती केन्द्रबाट ३ हजार ४५४ जनाले आश्रय तथा राहत प्राप्त गरेका छन्।
विपद् प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउने काम पनि जारी छ। भारत र चीनबाट प्राप्त उद्धार तथा राहत सामग्री काठमाडौंमा संकलन गरी नुवाकोट र रसुवाका विभिन्न स्थानमा पठाइएको सरकारले जनाएको छ।
राहत सामग्रीलाई जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति र बागमती प्रदेश सरकारसँगको समन्वयमा प्रभावित क्षेत्रमा वितरण गर्ने तयारी गरिएको छ।
अन्तर्राष्ट्रिय सहयोग बढ्दै
नेपालमा आएको विपद्का लागि विभिन्न अन्तर्राष्ट्रिय संस्था तथा मित्रराष्ट्रहरूले आर्थिक, प्राविधिक र मानवीय सहयोगको प्रतिबद्धता जनाएका छन्।
एसियाली विकास बैंक (एडीबी)ले बजेटरी अनुदानका लागि ५० लाख अमेरिकी डलर तथा प्राविधिक सहयोगका लागि थप १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने जनाएको छ।
त्यस्तै, विश्व बैंकले १६ करोड ७० लाख अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। अमेरिकी सरकारले ५ लाख अमेरिकी डलर र अस्ट्रेलिया सरकारले १० लाख अमेरिकी डलर नगद सहयोग गर्ने जनाएको सरकारको भनाइ छ।
भारतबाट चार चरणमा गरी हालसम्म ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि नेपाल आइपुगेको छ। चीन र अमेरिकाबाट पनि राहत सामग्री तथा मानवीय सहायता आउने क्रम जारी रहेको सरकारले जनाएको छ।
पूर्वाधार पुनःनिर्माणमा पनि सहयोग
विपद्बाट क्षतिग्रस्त सडक तथा पुललगायतका पूर्वाधार पुनःस्थापनाका लागि पनि छिमेकी मुलुकसँग सहयोग मागिएको छ।
नेपालले चीनसँग ३० वटा बेलीब्रिज उपलब्ध गराउन अनुरोध गरेको छ। भारतले आइतबार २३० फिट लामो सिंगल लेन मोडुलर स्टिल ब्रिज पठाएको छ। भारतले थप सातवटा बेलीब्रिज उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ।
यस्तै, स्विट्जरल्यान्डबाट संयुक्त राष्ट्रसंघमार्फत खर्च हुने गरी १० लाख स्विस फ्र्याङ्क सहयोग प्राप्त भएको प्रधानमन्त्री शाहले बताएका छन्।
सरकारले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत, अस्थायी आश्रय र पुनःस्थापनाका कामलाई समन्वयात्मक रूपमा अघि बढाउँदै स्वदेश तथा विदेशबाट प्राप्त सहयोग पारदर्शी र प्रभावकारी रूपमा परिचालन गर्ने जनाएको छ।
