बिर्तामोड (झापा) ।झापाको बिर्तामोडमा बसलाई ओभरटेक गर्ने क्रममा तीनवटा सवारीसाधन आपसमा ठोक्किँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

बुधबार दिउँसो करिब ३ः२० बजे बिर्तामोड नगरपालिका–१ स्थित बिर्तामोड आँखा अस्पतालअगाडि पूर्व–पश्चिम राजमार्गमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्रदेश १–०१–०१८ प ५७५४ नम्बरको १५० सीसी पल्सर मोटरसाइकलले सोही दिशातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४७०७ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा बसको दायाँतर्फ ठक्कर दिएको थियो । बसमा ठोक्किएपछि पल्सर विपरीत दिशाबाट आउँदै गरेको मे १० प ७२५७ नम्बरको १५० सीसी एफजेड मोटरसाइकलसँग ठोक्किएको थियो ।
दुर्घटनामा पल्सर चालक अर्जुनधारा नगरपालिका–६ रिजालगाउँका ३३ वर्षीय इन्द्रमणि अर्याल गम्भीर घाइते भएका थिए । टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेका अर्याललाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा उपचारका क्रममा दिउँसो ४ः१८ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
यस्तै दुर्घटनामा एफजेड मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–२ का २० वर्षीय अनिश राजवंशी घाइते भएका छन् । दाहिने खुट्टा र हातमा चोट लागेका राजवंशीको कञ्चनजंघा अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उनको अवस्था बोल्न सक्ने रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न बस, बस चालक विराटनगर महानगरपालिका–४ का ३८ वर्षीय गंगा श्रेष्ठ तथा दुवै मोटरसाइकललाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
