समाचार
हल्दिबारी संवाददाता २ महिना अगाडि

बिर्तामोडमा बस ओभरटेक गर्दा तीन सवारी ठोक्किए, पल्सर चालकको मृत्यु

बिर्तामोड (झापा) ।झापाको बिर्तामोडमा बसलाई ओभरटेक गर्ने क्रममा तीनवटा सवारीसाधन आपसमा ठोक्किँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

​बुधबार दिउँसो करिब ३ः२० बजे बिर्तामोड नगरपालिका–१ स्थित बिर्तामोड आँखा अस्पतालअगाडि पूर्व–पश्चिम राजमार्गमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।

​प्रहरीका अनुसार बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्रदेश १–०१–०१८ प ५७५४ नम्बरको १५० सीसी पल्सर मोटरसाइकलले सोही दिशातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४७०७ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा बसको दायाँतर्फ ठक्कर दिएको थियो । बसमा ठोक्किएपछि पल्सर विपरीत दिशाबाट आउँदै गरेको मे १० प ७२५७ नम्बरको १५० सीसी एफजेड मोटरसाइकलसँग ठोक्किएको थियो ।

​दुर्घटनामा पल्सर चालक अर्जुनधारा नगरपालिका–६ रिजालगाउँका ३३ वर्षीय इन्द्रमणि अर्याल गम्भीर घाइते भएका थिए । टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेका अर्याललाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा उपचारका क्रममा दिउँसो ४ः१८ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

​यस्तै दुर्घटनामा एफजेड मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–२ का २० वर्षीय अनिश राजवंशी घाइते भएका छन् । दाहिने खुट्टा र हातमा चोट लागेका राजवंशीको कञ्चनजंघा अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उनको अवस्था बोल्न सक्ने रहेको प्रहरीले जनाएको छ ।

​दुर्घटनामा संलग्न बस, बस चालक विराटनगर महानगरपालिका–४ का ३८ वर्षीय गंगा श्रेष्ठ तथा दुवै मोटरसाइकललाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)