झापा । एक साताअघि भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउने र बेपत्ता हुनेहरूको संख्या ६ हजारभन्दा बढी पुगेको छ। नेपाल प्रहरीले बुधबार साँझसम्म सार्वजनिक गरेको तथ्यांक अनुसार यस प्राकृतिक विपत्तिमा हालसम्म १ हजार २२२ जनाको शव फेला परेको छ भने ४ हजार ८७५ जना अझै बेपत्ता छन्।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले आफन्तहरूले दर्ता गराएको उजुरीका आधारमा बेपत्ताको यो तथ्यांक बाहिर आएको जानकारी दिए। विपद् प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहे पनि ठूलो परिमाणमा भएको क्षतिका कारण बेपत्ताहरूको अवस्था पत्ता लगाउन चुनौतीपूर्ण बनेको छ।

यसैबीच, पहिचान हुन नसकेका शवहरूको व्यवस्थापन प्रशासनका लागि ठूलो चुनौती बनेको छ। डीआईजी काफ्लेका अनुसार पहिचान नभएका ८२२ वटा शवलाई कुहिनबाट जोगाउन र स्वास्थ्यसम्बन्धी जोखिमलाई ध्यानमा राख्दै हालका लागि जमिनमुनि अस्थायी रूपमा गाडेर व्यवस्थापन गरिएको छ।
स्थानीय प्रशासन, सुरक्षा निकाय र उद्धार टोली प्रभावित क्षेत्रमा बेपत्ताहरूको खोजीका साथै राहत सामग्री वितरणमा जुटेका छन्।
