रसुवा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकामध्ये ६ जनालाई नेपाली सेनाको टोलीले जीवितै उद्धार गरेको छ । लेदो र माटोले थुनिएका सुरुङभित्र जोखिमपूर्ण रूपमा खोजी तथा उद्धार कार्य जारी राखिएको छ ।

सैनिक मुख्यालयका अनुसार बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाहरूमा प्राविधिक, आयोजनाका कर्मचारी तथा अन्य उद्धार टोलीको संयुक्त सहभागितामा बेपत्ताहरूको खोजीलाई तीव्रता दिइएको छ । भारी मात्रामा लेदो, माटो र ढुंगा भरिएकाले सुरुङभित्र प्रवेश गर्न निकै कठिन भए पनि आधुनिक उपकरणसहित उद्धार टोली निरन्तर खटिएको छ ।

लाङटाङ हाइड्रोपावरको सुरुङभित्र विदेशी विशेषज्ञसहित २५ जनाको टोली परिचालन गरिएको छ । उक्त टोलीले सुरुङको करिब १५० मिटर भित्र प्रवेश गरी दुई स्थानमा साना प्वाल (होल) बनाएर भित्र अड्किएकाहरूको अवस्था पत्ता लगाउने प्रयास गरिरहेको छ । चिलिमे हाइड्रोमा पनि उस्तै प्रकृतिको उद्धार प्रयास जारी रहेको सेनाले जनाएको छ ।
यसैगरी, त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनामा ९३ जनाको टोली खटिएको छ । पाँच वटा स्काभेटर प्रयोग गरी रातभर टनेलको आउटलेटमा जमेको लेदो र माटो हटाइएको थियो । सैनिक टोलीले राति साढे २ बजे आउटलेटको बाटो खोल्न क्राउनमा नियन्त्रित ब्लास्टिङसमेत गरेर सफा गरेको छ ।
त्रिशूली ‘थ्री बी’ आयोजना क्षेत्रमा नेपाली सेनाका ८९, गैरसैनिक ३ जना र आयोजनाका प्रबन्ध निर्देशकसहितको टोली परिचालित छ । टोलीले आयोजनाको मुख्य कार्यालय र कर्मचारी निवास रहेको क्षेत्र पहिचान गरिसकेको छ । सो स्थानसम्म पुग्न एक्साभेटरबाट बाटो बनाउने र बबक्याट प्रयोग गरी माटो पन्छाउने कार्य भइरहेको छ ।
सुरुङभित्र अझै केही मानिसहरू अड्किएको आशंका गरिएकाले उद्धार कार्यलाई २४ सै घण्टा निरन्तरता दिइने नेपाली सेनाले जनाएको छ ।
