
हल्दिबारी । नेपाल रेडक्रस सोसाइटीको ६६औँ स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी हल्दिबारी उपशाखाले जुरेस (जुनियर रेडक्रस सर्कल) तथा युरेस (युवा रेडक्रस सर्कल) का विद्यार्थीका लागि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।


नेपाल रेडक्रस सोसाइटी हल्दिबारी उपशाखाका सभापति कणाखर प्रसाईँको अध्यक्षता तथा हल्दिबारी गाउँपालिका–२ का वडाध्यक्ष शुक्ल राजवंशीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका कोषाध्यक्ष ओमप्रकाश गौतमलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा जिल्ला शाखाका कार्यालय प्रमुख हरिशरण खड्काले रेडक्रसको स्थापना, उद्देश्य, काम, कर्तव्य तथा अधिकारका साथै जुरेस र युरेसमा आबद्ध विद्यार्थीले खेल्नुपर्ने भूमिकाका विषयमा सहभागीलाई प्रशिक्षण दिनुभएको थियो। उहाँले मानवीय सेवा, स्वयंसेवा तथा विपद्का समयमा विद्यार्थी र युवाले समुदायमा निर्वाह गर्न सक्ने भूमिकाबारे समेत जानकारी गराउनुभएको थियो।

सोही अवसरमा सर्पदंश उपचार केन्द्रका इन्चार्ज अभिषेक पोखरेलले सहभागी विद्यार्थीलाई सर्पदंशसम्बन्धी अभिमुखीकरण गराउनुभएको थियो। उहाँले विषालु तथा विषालु नभएका सर्पको पहिचान, सर्पले टोकेपछि अपनाउनुपर्ने प्राथमिक सावधानी, उद्धार तथा उपचारका विषयमा जानकारी दिनुभएको थियो। साथै सर्प उद्धार गर्दा अपनाउनुपर्ने सुरक्षा उपायबारे समेत प्रशिक्षण दिइएको थियो।

एकदिने प्रशिक्षण कार्यक्रममा हल्दिबारी गाउँपालिका–२ अन्तर्गतका संस्थागत विद्यालय सिग्मा अंग्रेजी स्कुल, क्यानरी एकेडेमी र जसोदा अंग्रेजी विद्यालयका जुनियर रेडक्रस सर्कलका कार्यसमिति सदस्य, शिक्षक नायकलगायत ४० जनाभन्दा बढीको सहभागिता रहेको थियो।
मानवीय सेवा र सामाजिक उत्तरदायित्वप्रति विद्यार्थी तथा युवालाई अभिप्रेरित गर्दै विपद्का समयमा आवश्यक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको आयोजकले जनाएको छ।
